तालिवानको आक्रमणमा परी अफगानिस्तानमा १६ सैनिकको मृत्यु


एजेन्सी ।

तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ । देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरु तर्फ क्षति भएको हो ।

समाचार श्रोतले शुक्रबार दिएको जानकारीअनुसार विद्रोहीहरुले तीन ओटा सुरक्षा कार्यालयमा उनीहरुले आक्रमण गरेका थिए । अफगानिस्तानमा भइरहेको द्धन्द्ध समाधानका लागि कतारमा आगामी आइतबारदेखि वार्ता हुन लागिरहेका बेलामा घटना भएको हो ।

यो घटनाका कारण तयारी अवस्थामा रहेको वार्तालाई पनि असर पार्ला भन्ने बारेमा धेरैले चिन्ता व्यक्त गरेका छन् ।

अफगानिस्तानमा चार दशकदेखि चलेको युद्ध अन्त्यको प्रयास स्वरुप शान्ति वार्ता सुरु हुँदैछ। अफगानिस्तान सरकार र तालिबान बिद्रोहीबिच शनिबार पहिलोपटक खाडी मुलुक कतारमा शान्ति वार्ता हुँदैछ ।

शान्ति वार्ता यसअघि नै हुने भनिए पनि विविध कारणले हुन सकेको थिएन । वार्ताको उद्घाटनका लागि दोहा उड्ने क्रममा अमेरिकी विदेश मन्त्री माइक पोम्पोओले यसलाई ऐतिहासिक घटना भनेका छन् ।

गएको फेब्रुअरीमा अमेरिका र तालिबानबिच सुरक्षा सम्झौता भएपछि वार्ताको वातावरण बनेको हो। बन्दी रिहा गर्ने सहमति भने विवादास्पद छ । तर वार्ता सफल भएमा अफगानिस्तानमा विगत चार दशकदेखि जारी हिंसा अन्त्य हुनेछ ।

अफगानिस्तानको वार्ता टोलीका प्रमुखहरु शुक्रबार नै दोहा पुगेका छन् । बिहीबार तालिबानले आफू वार्तामा सहभागी हुने पुष्टि गरेको थियो । ६ कैदी रिहा भएपछि तालिबानले वार्ताका लागि सहमति जनाएको हो ।

अफगान सरकार र तालिबानका प्रतिनिधिबिच हुन लागेको यो पहिलो प्रत्यक्ष वार्ता हो । यसअघिसम्म तालिबानले अफगान सरकारका प्रतिनिधिसँग भेट्न अस्वीकार गर्दै आएका थिए ।

उनीहरुले अफगान सरकार शक्तिहीन र अमेरिकाको कठपुतली रहेको बताउँदै आएका थिए। दुवै पक्ष राजनीतिक सहमति गरी हिंसा अन्त्यका लागि प्रयासरत छन् ।