ओली–प्रचण्डबीच कुरा मिल्यो, नेपालको चित्त अझै बुझेन


काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद समाधान हुने चरणमा पुगेको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिकै आधारमा सरकार पार्टी सञ्चालन गर्ने सहमति भइसकेको छ ।
तर पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ओली प्रचण्डबीच भएको सहमतिप्रति चित्त बुझाउनुभएको छैन् । विवाद समाधानको लागि गठित कार्यादलले बुझाएको प्रतिवेदनमा उल्लेख गरेका विषयमा स्पष्ट व्याख्या नभएको भन्दै सचिवालयमा फरक मत

राख्नुभएको छ । कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको अमूर्त विषयलाई थप स्पष्ट पार्नुपर्ने माग नेता नेपालले राख्नुभएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अध्यक्ष प्रचण्डबीच सरकारको बाँकी कार्यकाल ओलीले नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्ष सहितको जिम्मेवारी लिए पार्टी सञ्चालन गर्नेमा समझदारी बनेको छ । सोही समझदारी भएपछि दुई अध्यक्षले जारी विवादको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो ।

कार्यदलले बुझाएको सुझाव सहितको प्रतिवेदन सचिवालय बैठकले अनुमोदन गरिसकेको छ । अब बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र प्रचण्डले कार्यदलको सुझावलाई समेत समावेश गरेर संयुक्त रुपमा प्रस्ताव पेश गर्नेछ । उक्त प्रस्ताव पारित भएसँग नेकपाको जारी विवाद तत्कालको लागि समाधान हुने भएको छ ।

भदौ २६ गते स्थायी कमिटी बैठक आह्वान
गत असारमा बसेको स्थायी कमिटी बैठकमा सुरुमा पाँच वटा एजेण्डामाथि छलफल तय भएपनि बैठकको बीचमै पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाटै ओलीको राजिनामा माग गरेपनि विवाद उत्कर्षमा पुगेको छ ।

विभाजमा संघारमा पुगेको नेकपाको विवाद अन्ततः दुई अध्यक्षको समझदारीमा तत्कालको लागि टरेको छ । राजिनामाको विवाद चर्किदै गएपछि स्थायी कमिटी बैठक ओलीले स्थगित गरेपनि प्रचण्डले प्रधानमन्त्री निवास वालुवाटारमै सञ्चालन गर्नुभएको थियो ।

नेताहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरेपनि पार्टीभित्र असमझदारी बढदै गएपछि बैठक पनि प्रभावित हुन पुगेको थियो । कार्यदलले पार्टीको विवाद समाधान गर्ने सुझाव दिएसँगै स्थगित भएको स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भदौ २६ गते स्थायी समिति बैठक बोलाइएको जानकारी दिनुभयो । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास वालुवाटारमा भएको सहमति अनुसार गत साउन १३ गतेबाट स्थगित बैठक ४० दिनपछि भदौ २६ गते बोलाउने सहमति छ ।