पर्वतमा भूकम्पपछिको आवास पुर्ननिर्माण जम्मा ५१ प्रतिशत सम्पन्न


न्युज अफ नेपाल, पर्वत

भूकम्प गएको ५ बर्ष पुरा भएपनि पर्वतमा भूकम्पपछिको पुनर्निमाणको काम भने जममा ५१ प्रतिशत मात्रै सकिएको छ । पर्वत जिल्लामा लाभग्राहीका भवन निर्माणको काम ५१ प्रतिशत मात्रै सकिएको हो ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय पर्वतका अनुसार २०७२ वैशाख १२ गतेको भूकम्पले ५ हजार ५ सय १२ घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए, जसमध्ये हालसम्म २ हजार ७९९ ओटाको पुनर्निर्माण भएका छन । घर निर्माण सम्पन्न भई लाभग्राहीलाई तेस्रो किस्ता भुक्तानी दिइएको छ ।

कार्यालयका अनुसार पहिलो किस्ता ५ हजार १२४, दोस्रो किस्ता ३ हजार ६७१ जनाले बुझेका छन् । । तर, २ हजार ७ सय ३३ जनाको घर निर्माण सम्पन्न हुन बाँकी छ । ३ सय ८८ घर पूर्ण क्षतिको सूचीमा परे पनि सम्झौता गर्न नआएको कार्यालय प्रमुख कृष्णराज गौतमले जानकारी दिनुभयो ।

‘दोस्रो किस्ता लगे पनि कतिपयको मापदण्ड पुगेको छैन्।’ गौतमले भन्नुभयो ‘मापदण्ड नपुगेका घरलाई मापदण्ड अनुसारको बनाउन प्राविधिकले ताकेता गरिरहेका छन्, मापदण्ड नपुगेका १० प्रतिशत जति घर होलान।’ जिल्लामा आंशिक क्षतितर्फ ६ सय ४१ घर सूचीकृत छन् ।

२ सय ७६ घरले पहिलो किस्ता लगे पनि दोस्रो किस्ता कसैले पनि लगेका छैनन् भने ३ सय ६५ जना सम्झौता गर्न नै नआएको गौतमले जानकारी दिनुभयो । यही महीनाको अन्तिमसम्म सम्झौताको म्याद रहेको र केही सम्झौता भई पहिलो किस्ता भुक्तानीको प्रक्रियामा रहेको उनले बताए । उहाँको भनाई छ ।

पूननिर्माण प्राधिकरणको कार्यविधि अनुसार पूर्ण क्षति भएका घरले ३ लाख रुपैयाँ र आशिंक क्षति भएका घरले १ लाख रुपैयाँ अनुदान प्राप्त गर्छन् । जिल्लाका जोखिमपूर्ण बस्तीका २२ घरधुरीमध्ये १६ घरधुरीलाई एकीकृत बस्तीमा स्थानान्तरण गरिएको छ । पुनर्निर्माण अपेक्षित गतिमा अघि बढेकोमा कोरोना महामारीले केही काम प्रभावित भएको दाबी कार्यालय प्रमुख गौतमको छ ।

भूकम्पपछि विभिन्न समयमा प्राविधिक मूल्यांकन हुँदा छुट भएका र प्राविधिकको निर्णय चित्त नबुझेका भूकम्प पीडितलाई पुनरावेदन गर्न सक्ने अधिकार दिएपछि जिल्लामा ७ सय ८१ जनाले उजुरी दर्ता गरेका छन् । कार्यालयले असारबाटै आवेदन माग गरेकोमा साउन ११ गतेदेखि पुनरावेदनको निवेदन दर्ता शुरु भएको थियो ।

पुनर्निर्माण प्राधिकरणले पर्वतमा २०७३ सालमा पहिलोपटक १४ हजार घरको सर्वेक्षण गर्दा ५ हजार २ सय ७९ घर पूर्ण र ४ सय १७ घर आशिंक क्षतिमा परेको प्रतिवेदन तयार भएको थियो । २०७५ सालमा गरिएको दोस्रो पटकको छुट तथा पुनः जाँच सर्वेक्षणमा २ सय ४३ घर पूर्ण र २ सय २४ आशिंक क्षतिमा सूचीकृत भएका थिए । उक्त वर्ष ४ हजार ५ सय घरको सर्वेक्षण गरिएको थियो ।