‘शहरमा रहेका सहकारीको मात्रै कुरा सुनियो’

0
Shares

काठमाडौं, (नेस)

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले संविधानले परिकल्पना गरेअनुसार आर्थिक, सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाजको १०औं स्थापना दिवसको उहाँ सो कुरा बताउनु भएको हो ।

सबल अर्थतन्त्र निर्माणका लागि सहकारीलाई महत्वपूर्ण साझेदारको रुपमा स्थापित गर्न मन्त्रालय क्रियाशील रहेको उल्लेख गर्दै शहरमा रहेका सहकारीको मात्रै कुरा सुन्ने र त्यसको अनुभवको आधारमा नकारात्मक वा सकारात्मक प्रचार प्रसार भयो कि भन्ने गुनासो आउने गरेको उहाँको भनाइ छ ।

त्यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीले देशमा गरिबी न्यूनीकरण, सामाजिक रुपान्तरणमा महत्वपूर्ण काम गरेको दाबी गर्दै सहकारीले विकसित देश निर्माण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सहकारी संस्था धेरै संख्यामा भएका कारण कोरोनाका बेला पास लिन समस्या भएको भन्दै उपत्यकामा कारोनाको संक्रमण बढेको भन्दै आफू पनि यसबाट बच्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीलाई प्रविधितर्फ जानको लागि आवश्यक गृहकार्य गरिरहेको भन्दै सहकारीहरू पनि प्रविधिमा जान अत्यावश्यक भइसकेकोमा जोड दिनुभयो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई सुशासनमा ल्याउने काममा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । साथै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले सहकारी क्षेत्रमा खबरदारी गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।