एजेन्सी ।
क्लियन एमबाप्पेको निर्णायक गोलमा फ्रान्सले युइएफए नेसन्स लिग फुटबल प्रतियोगिता २०१८ मा जितको नतिजा निकालेको छ ।
समूह ‘सी’ अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा विश्वकप विजेता फ्रान्सले स्वीडेनलाई उसैको भूमिमा १-० ले पराजित गर्दा युवा स्टार क्लियन एमबाप्पे नायक बने ।फ्रान्सका लागि खेलको ४१औं मिनेटमा एमबाप्पेले गरेको गोल नै खेलको निर्णायक सावित बन्यो ।
फ्रान्समाथि घरेलु टोली स्वीडेनले खेल अवधिभरि नै दवाब बनाएको थियो । स्वीडेनले फ्रान्सलाई कुनै बेला पनि खुलेर खेल्न दिएन । एमबाप्पेसहित एन्टोनी ग्रीजम्यान र ओलिभर जिरुडको आक्रमण अग्रपंक्तिले स्वीडेनविरुद्ध गतिला आक्रमण नै बुन्न सकेन ।
दोस्रो हाफमा पनि स्वीडनेले पटक–पटक गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेन । इन्जुरी समयमा स्वीडेनका खेलाडीले फ्रान्सका एन्थोनी मार्सियाललाई फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । तर, ग्रीजम्यान उक्त पेनाल्टीमा गोल गर्नबाट चुके । उनको प्रहार बारमा लागेर फर्किएपछि फ्रान्सको जित १(० मै सिमित भयो ।
यसै समूहको अर्को खेलमा पोर्चुगलले क्रोएशियामाथि ४–१ गोलअन्तरको जित दर्ता गरेको छ । युइएफए नेसन्स लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा पनि डिफेन्डिङ च्याम्पियन पोर्चुगलले शानदार सुरुआत गरेको हो । दोस्रो संस्करणको पहिलो खेलमा पोर्चुगलले आफ्ना नियमित कप्तान तथा प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोबिनै पनि क्रोएसियामाथि ४–१ को शानदार जित निकाल्न सफल भयो ।
आफ्नो भूमिमा भएको खेलमा पाहुना टोली क्रोएशियालाई हराउनेक्रममा पोर्चुगलका लागि ४ जना फरक–फरक खेलाडीले गोल गरे । जितसँगै पोर्चुगलले आफ्नो समूह ‘ए, ग्रुप ३’ मा स्पष्ट जितसहित ३ अंक जोडेर सबैभन्दा शीर्ष स्थानमा छ । फ्रान्स पनि ३ अंकसहित गोल भिन्नताको आधारमा दोस्रोमा छ भने पराजित स्वीडेन र क्रोएसिया अंकविहीन हुँदै पुछारमा छन् । त्यसैगरी, नर्थ म्यासेडोनियाले अर्मेनियामाथि २–१ गोलको जित दर्ता गर्दा जर्जियाले पनि इस्टोनियालाई १–० ले पराजित गर्यो ।
त्यस्तै, समूह ‘बी’ अन्तर्गतको आफ्नो पहिलो खेलमा बेल्जियमले डेनमार्कलाई उसैको भूमिमा २-० ले हरायो । बेल्जियन टोलीमा इडेन हाजार्ड, केभिन डे ब्रुयेनेसहितका प्रमुख खेलाडी थिएनन् ।
बेल्जियमका लागि खेलको नवौं मिनेटमा जासन डेनाएरले पहिलो गोल गरेका थिए । त्यस्तै, खेलको ७६औं मिनेटमा स्टार फरवार्ड ड्रिएस मर्टेन्सले गोल गरेपछि बेल्जियमले खेल २(० ले जित्यो । यसै समूहको अर्को खेलमा इंग्ल्याण्डले आइसल्याण्डलाई १–० गोलअन्तरले पराजित गर्यो । इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङले गरेको एक मात्र गोल नै निर्णायक सावित बनेको थियो ।
जितपछि बेल्जियम लिग ए समूह २ मा ३ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । ३ अंक नै रहेको इंग्ल्यान्ड दोस्रो स्थानमा छ । पराजित आइसल्यान्ड र डेनमार्क अंकविहीन हुँदै पुछारमा छन् ।











प्रतिक्रिया