स्वअध्ययनमा रमाउँदै विद्यार्थी


दिलकुमार लिम्बु, ताप्लेजुङ

लामो समयसम्म विद्यालय खुल्न नसकेपछि रिड नेपालको पहलमा तयार पारिएको स्वअध्ययन पुस्तकमा विद्यार्थी रमाउन थालेका छन् ।

कोरोनाका कारणले विद्यालय विद्यायल बन्द भएपछि विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास हराउँदै जाने भएकाले ताप्लेजुङमा रिड नेपालले फक्ताङलुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिका भित्रका विद्यालयलाई अध्ययनप्रति लागाव गराउन विभिन्न कार्याक्रम गर्दै आएको रिड नेपालका कार्याक्रम संयोजक राजेन्द्र पन्तले बताउनुभयो । बन्दाबन्दीको समयमा पहिलो प्याकेजमा ताप्लेजुङमा रहेको ३ वटा स्थानीय रेडियो र तेह्रथुम जिल्लामा रहेको आठराई रेडियोबाट २ महिने रोडियो सिकाइ कार्यक्रम सञ्चालन गरेको कार्यक्रम संयोजक पन्तले जनाउनुभयो ।

दुर्गम गाउँहरूमा रेडियोको पहुँच नपुग्ने भएकाले दोस्रो प्याकेजमा स्वअध्ययन नामक पाठ्यपुस्तक तयार गरेर कक्षा ५ सम्मका प्रत्येक विद्यार्थीको हात–हातमा पुर्‍याएको कार्यक्रम संयोजक पन्तको भनाइ छ । नेपाल सरकारले तयार पारेको पठ्यक्रमलाई आधारमा मानेर २ महिनाका लागि फक्ताङलुङ गाउँपालिका २२ विद्यालय र सिरिजङ्घा गाउँपालिकाका १३ विद्यालय गरी ३५ विद्यालयका २ अजार ६ सय विद्यार्थीलाई ४ लाख ५० हजार रुपियाँ बराबरको पाठ्यक्रम सामग्री रिड नेपालले निःशुल्क वितरण गरेको छ ।

लामो समय विद्यालय जान नपाउँदा पढाइप्रति रुचि कम हुँदै जान थालेका छोराछोरीले रिड नेपालको सबै विषय समेटिएको स्वअध्ययन पाठ्यपुस्तक घरमै बसेर अध्ययन गरिरहेका फक्ताङलुङ गाउँपालिका–५ का अभिभावक पूर्णकुमारी राई बताउनुहुन्छ । कोरोनाका कारणले विद्यालयमा अध्ययन– अध्यापन गर्न सम्भव नभएको समयमा सबै विषय समेटिएको स्वअध्ययन पुस्तक विद्यार्थीका लागि लाभदायक भएको फक्ताङलुङ गाउँपालिका–६ का महेन्द्र आधारभूत विद्यालयका शिक्षक बिसस केदेमले बताउनुभयो ।

‘दुर्गममा अनलाइन भनेको के हो थाहा छैन, रेडियो सबैको घरमा छैन, स्वअध्ययन विताबले केटाकेटीको पढ्ने बानीको विकास गरेको छ।’ –फक्ताङलुङ गाउँपालिका–६ सरस्वती च्यारीबुक माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सन्तकुमार फेम्बुको कथन छ ।