पुष्पलाल मध्यपहाडी लोकमार्गको ‘रुट’ परिवर्तन


नेपाल समाचारपत्र, खोटाङ  । 

विश्व प्रसिद्ध त्रि–धार्मिकस्थल हलेसी आसपासबाट सञ्चालन भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको ‘रुट’ परिवर्तनका लागि पहल थालिएको छ । हलेसी मन्दिर, गुम्बा तथा गुफाका नजिकैबाट सञ्चालन गरिएको लोकमार्गका कारण सो संरचनामा असर गर्ने देखिएकाले हलेसी विकास समितिले ‘रुट परिवर्तन’ का लागि पहल गर्ने निर्णय गरेको हो ।

नियमित आवत–जावत गरिरहने सवारीसाधनका कारण प्राकृतिक गुफा र संरचनामा असर पुगी भविष्यमा हलेसीको अस्तित्व नै संकटमा पर्ने खतरा देखिएकाले रुट परिवर्तन गर्न आवश्यक ठानिएको जनाइएको छ । त्रि–धार्मिकस्थललाई छोएको लोकमार्गलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको छापडाँडाबाट चुमाखु, कात्तिके, लोकेबर हुँदै एलाइमेन्ट परिवर्तनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष पहल गर्ने योजना बनाइएको हलेसी महादेवस्थान विकास समितिका अध्यक्ष टंक राईले बताउनुभयो ।

मध्यपहाडी सडकको रुट परिवर्तनका लागि गत फागुन २८ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई ज्ञापनपत्र नै बुझाइएको थियो ।