हत्या आरोपमा ४ जना थुनामा


गोकुल घोरसाइने, बारा । 

निजगढ नगरपालिकाका एक युवकको हत्या आरोपमा जिल्ला अदालत बाराले पुर्पक्षका लागि ४ जना अभियुक्तलाई थुनामा राख्न शुक्रबार निर्णय दिएको छ ।

अदालतले निजगढ नगरपालिका–८ का वर्ष ३७ का लालध्वज लामाको हत्या अभियोगमा निजगढ नगरपालिका–८ का ३३ वर्षीय केशवराज शिवाकोटी, सोही ठाउँकी वर्ष ३९ की बन्दना लामा, निजगढ–९ बस्ने वर्ष ४५ को ‘सञ्जय’ भनिने चक्रबहादुर तामाङ र सर्लाही जिल्ला बाग्मती नगरपालिका–३ बस्ने वर्ष २४ का जोखबहादुर स्याङ्तानलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय दिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार दिनभरिको बयान र थुनछेक बहसपछि न्यायाधीश ईश्वरीप्रसाद गौतमको इजलासले राति ८ बजे आदेश दिएको प्रहरी नायव निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

लालध्वजको हत्या अभियोगमा इलाका प्रहरी कार्यालय सिमराले चारै जनालाई एक महिनाअघि पक्राउ गरी जिल्ला सरकारी वकिल महेन्द्र थापामार्फत मंगलबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । अभियुक्तहरूसँग २ दिन लगाएर अदालतमा बयान लिइएको थियो । सो मुद्दामा अदालतको अन्तिम फैसला आउन भने अझै बाँकी नै छ ।

अमलेखगन्जस्थित ससुराली घरबाट गत असार २१ गते बेपत्ता बनेका लालध्वजको असार २८ गते जितपुरसिमरा उपमहानागरपालिका–२२ अमलेखगन्जस्थित २ नम्बर पुल पूर्वतर्फको थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र शव सडेर गलेको अवस्थामा फेला परेको थियो ।