रूपन्देहीमा व्यापा-व्यवसाय खुला, यातायात अझै बन्द

0
Shares

नेपाल समाचारपत्र, बुटवल  ।

रूपन्देहीमा निषेधाज्ञा खुकुलो भनिए पनि बजार मात्र खुलेका छन्, निजी तथा सार्वजनिक यातायात चलाउन पाइँदैन । विगत ३ हप्तादेखि जिल्लामा लगाइएको निषेधाज्ञा केही खुकुलो बनाइए पनि यातायातका साधन नचल्दा व्यापार–व्यवसायले गति लिने देखिन्न ।

शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यसअघि पूर्णरूपमा बन्द भएका व्यवसाय आइतबारबाट दैनिक ७ घण्टा सञ्चालन गर्न दिने गरी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । यस्तै शुक्रबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले पनि लकडाउन खुकुलो बनाउन सिफारिस गरेको थियो ।

रूपन्देहीका उद्योगी–व्यवसायीका संघ–संगठनले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जिल्लाभर बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल–व्यवसाय खोल्न पाउने गरी भदौ २८ गते राति १२ बजेसम्म नयाँ निषेधाज्ञा आदेश जारी गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शनिबार जारी गर्नुभएको आदेशमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु र सेवा बिहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछन् भने औषधिजन्य वस्तु र सेवा निरन्तर सञ्चालन हुने उल्लेख छ । यस्तै व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्न सकिनेछ ।

सबै सरकारी कार्यालयले कार्यालयमा भीडभाड नहुने व्यवस्था मिलाई सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने तथा अत्यावश्यक उपभोग्य वस्तु वा सेवा आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेउपर कानुनबमोजिम कारबाही हुने आदेशमा उल्लेख गरिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिन सक्ने छन् भने आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो–सुकैउपर प्रचलित कानुनबमोजिम कारबाही हुने आदेशमा भनिएको छ ।