कोरोना भाइरसको रूसी खोपको प्रतिवेदन सार्वजनिक, सामान्य साइड इफेक्ट, सकारात्मक परिणाम


मस्को, (एजेन्सी) ।

रूसी वैज्ञानिकले आफूहरूले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपमाथि भएको प्रारम्भिक परीक्षणले शारीरिक प्रतिरोधबारे देखाएका संकेतहरू समेटिएको पहिलो प्रतिवेदन शनिबार सार्वजनिक गरेका छन्। मेडिकल जर्नल दि लान्सेटमा प्रकाशित सो प्रतिवेदनमा परीक्षणमा संलग्न प्रत्येक सहभागीमा भाइरसविरुद्ध लड्ने एन्टिबडी विकास भएको तथा त्यस्तो कुनै गम्भीर साइड इफेक्ट नदेखिएको जनाइएको छ।

रूसी सरकारले यस खोपको स्थानीयस्तरमा प्रयोग गर्न गत अगस्टमा नै अनुमति दिएको थियो। खोपसम्बन्धी आवश्यक तथ्यांकहरू बाहिरिनुअघि नै खोप प्रयोगका लागि तयार हुने रसिया विश्वकै एक मात्र पहिलो मुलुक हो। तर, अझै पनि स्वास्थ्य विशेषज्ञहरूले यस खोपको प्रभावकारिता र सुरक्षा प्रमाणित गर्न अझै धेरै परीक्षणको आवश्यकता रहेको औंल्याएका छन्।

तर, ती समीक्षकलाई सीधा उत्तर दिने हिसाबले मस्कोले खोपको परिणामलाई निकै प्रशंसा गरेको छ। केही पश्चिमी विशेषज्ञले रसियाको खोप निर्माणसम्बन्धी कामको तीव्रतालाई लिएर चिन्ता व्यक्त गर्नुका साथै अनुसन्धानकर्ताहरूले हडबड गरेको हुन सक्ने बताएका छन्।

गत महिना रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले खोपले आवश्यक सम्पूर्ण परीक्षण पार गरेको तथा आफ्नी एक छोरीमाथि समेत उक्त खोप प्रयोग गरिएको बताएका थिए। दि लान्सेटका अनुसार स्पुतनिक– ५ नामक खोपको दुईवटा परीक्षण जुन र जुलाई महिनाबीच गरिएको थियो।

सो परीक्षणमा संलग्न ३८ जना स्वस्थ स्वयंसेवकमध्ये प्रत्येकलाई उक्त खोप दिइएको तीन सातापछि एउटा बुस्टर खोप दिइएको थियो। १८ देखि ६० वर्ष उमेर समूहका ती स्वयंसेवकलाई ४२ दिनसम्म अवलोकन र अनुगमनमा राखिएको थियो।

तिनीहरू सबैमा तीन साताभित्र एन्टिबडी विकास भएको थियो। अधिकांशमा टाउको र जोर्नीहरू दुख्नेजस्ता एउटै साइड इफेक्ट देखिएको बताइएको छ। खोपको तेस्रो चरणको परीक्षणमा विभिन्न जोखिम र उमेर समूहका ४० हजार स्वयंसेवक सरिक हुने बताइएको छ।