लेनदेनको विषयलाई लिएर हितैषी साथीको हत्या गर्ने पक्राउ

0
Shares

न्युज अफ नेपाल, भद्रपुर।

लेनदेनको विषयलाई लिएर आफनै मिल्ने साथीले हत्या गरेको आरोपमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । झापा शिवसताक्षी ११ मैनाचुलीका २९ वर्षीय गोमनसिंह मगरको हत्या गरेको आरोपमा सोही नगरपालिका ८ थेचम्बुका ३२ वर्षीय मनकुमार लिम्बूलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्बूलाइ शुक्रबार पक्राउ गरिएको जिल्लाका डिएसपी राकेश थापाले बताउँनुभयो ।

घट्ना विवरण अनुसार मनकुमार र गोमनसिंह मगर मिल्ने साथी हुन् । उनीहरूको घर एउटै नगरपालिका हो । तर,चिनजान बहराइनमा भएको थियो । उसैबेलादेखि उनीहरूका बीच लेनदेन थियो । मनकुमारले नयाँ मोबाइल नम्बरबाट मङ्गलबार साँझ ६ बजे साथीलाई फोन गरे । मिल्ने साथीले फोन गरेपछि गोमनसिंह केही नसोची हिडिहाले । उनीहरूको घरको दुरी नजिकै छ ।

लिम्बूले मगरलाई झिलझिले बजार बोलाएका थिए । मगर प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको रातो रङको पल्सर मोटरसाइकल लिएर घरबाट निस्किएको केही मिनेटमै भेट भयो । सामान्य कुराकानी भयो । अनि उनीहरु सोही मोटरसाइकलमा राजमार्ग उत्तर सतासीधाम जाने कच्ची सडक तर्फ लागे । मोटरसाइकलको पछाडि लिम्बू बसे । एककिलो मिटर उत्तर पुगेपछि जङ्गल बीचको बाटो नजिकमा नै लिम्बूले कर्दको प्रयोग गरी मगरको घाँटीमा प्रहार गरे । मगर ढलेपछि लिम्बूले मगरको घाँटी रेटेका थिए । बुधबार बिहान १० बजेतिर रतुवामाई वृक्षरोपण आयोजनाका वन रुघालुले मगरलाई मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरे ।

प्रहरीले तीन दिन लगाएर गरेको अनुसन्धानपछि लिम्बू एक्लैले साथीको हत्या गरेको खुलेको प्रहरीको अनुसन्धानले देखाएको डिएसपी थापाको भनाइ छ । अनुसन्धानका क्रममा मृतक र लिम्बूले प्रयोग गरेको गरी दुई वटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्याँकेको अवस्थामा शुक्रबार दिउँसो भेटिएको जिल्लाका एसपी कृष्ण प्रसाद कोइरालाले जनाउँनुभयो ।

बरामद मोबाइल र लिम्बूले प्रयोग गरेको हतियार फालेको स्थानबाटै फेला परेको आधारसहितका अन्य गतिला प्रमाणले घटनामा लिम्बूको संलग्नता पुष्टि भएको कोइरालाको भनाइ छ । मगरको शव भेटिएलगत्तै प्रहरीले अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर गरेको खोजतलासमा आरोपी राजमार्गतिर भागेको सङ्केत गरेको उहाँले जनाउँनुभयो । घट्नाको अनुसन्धान इलाका प्रहरी कार्यालय झिलझिले, इलाका प्रहरी कार्यालय दमक, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी इकाई कार्यालय विराटनगरले गरेको उहाँको भनाइ छ ।

साथीको हत्या उनले मोटरसाइकलमै घाँटी रेटेर गरेको र मोटरसाइकल घिसारेर घारी तिर फालिदिएको अभियुक्तले स्वीकार गरेको उहाँको भनाइ छ । मङ्गलबार साँझ घरबाट निस्किएका उनी राति अबेरसम्म पनि घर नर्फकिएपछि मगरका आफन्त र छिमेकीले खोजी शुरु गरेका थिए । मगर गत माघमा बहराइनबाट नेपाल आएका थिए भने लिम्बू पनि बहराइनबाट फर्किएका व्यक्ति हुन् । मगरले फागुन २ गते विवाह गरेका थिए ।