क्यानद्वारा मुख्य प्रशिक्षकको आवेदन माग

0
Shares

काठमाडौं, (नेस)
नेपाल क्रिकेट संघ (क्यान) ले एक राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन छापेर मुख्य प्रशिक्षक पदका लागि खुला आवेदन माग गरेको छ। क्यानले बिहीबार गरेको सो मागमा अन्य चार पदका लागि पनि आवदेन मागेको छ। जसमा महाप्रबन्धक, वित्त प्रमुख, स्थानीय प्रशिक्षक र क्रिकेट व्यवस्थापक पद रहेका छन्। मुख्य प्रशिक्षकको लागि कम्तीमा लेभल ३ गरेको हुनुपर्नेछ।

तर, प्रशिक्षकको हकमा भने ३ वर्ष अनुभव भएको अनिवार्यता गरेको छ। जसमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) पूर्ण सदस्य, प्रथम श्रेणी, आईसीसी एसोसिएट सदस्य वा अन्तर्राष्ट्रिय लिगमा काम गरेको हुनुपर्नेछ।
क्यानले क्रिकेटकै वरपर रहिरहेको र ओडीआई टोलीलाई सम्हाल्न सक्ने क्षमता आवश्यक पर्ने जनाएको छ।
उक्त पदका लागि ६० वर्षभन्दा कम उमेरसमूहकाले मात्र दरखास्त भर्न पाउने बतँइएको छ। साथै, नेपाली क्रिकेटबारे जानकारी भएको हुनुपर्नेछ।

महाप्रबन्धकका लागि शैक्षिक योग्यता स्नातकोत्तर गरेको हुनुपर्नेछ। कम्तीमा दुई वर्ष नेतृत्व पदमा रहेर काम गरेको र ५५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ। त्यसैगरी, क्यानको वित्त प्रबन्धकका लागि कम्तीमा पाँच वर्ष एकाउन्टिङ फाइनान्सको म्यानेजर पदमा रही काम गरेकोले दरखास्त दिन पाउनेछन्। शैक्षिक योग्यता बिजनेस, फाइनान्स वा एकाउन्टमा स्नातकोत्तर गरेको र ५५ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ।

क्यानले ७ प्रदेशका लागि ७ स्थानीय प्रशिक्षकको पनि माग गरेको छ, जसमा कम्तीमा लेभल वान गरेको हुनुपर्नेछ। क्यानको निर्देशनमा प्रदेश र जिल्लामा जान भने इच्छुक हुनुपर्नेछ। युवा प्रतिभालाई चिन्न सक्ने क्षमता स्थानीय प्रशिक्षकमा हुनुपर्ने पनि जनाइएको छ। नेपाली नागरिक र २५ वर्षदेखि ५५ वर्ष उमेरसमूहकाले यस पदमा आवेदन दिन सक्नेछन्।
क्रिकेट व्यवस्थापकका लागि क्यानले लेभल टु गरेको हुनुपर्ने जनाएको छ। व्यवस्थापनमा स्नातकोत्तर गरेको र कम्तीमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। साथै, उमरेको हद ५५ वर्ष कायम गरिएको छ।