रियाको पक्षमा उत्रिए अभिनेत्री

0
Shares

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापश्चात् पूरा बलिउड नगरी शोकमा डुब्यो। उनको निधनको कारण पत्ता लगाउन सीबीआई टिमले विभिन्न खालको अनुसन्धान अगाडि बढाइरहेको छ। यसै क्रममा सीबीआई टिम सुशान्तकी पूर्वप्रेमिका अभिनेत्री रिया चक्रवर्ती तथा उनको परिवारलाई लगातार सोधपुछ गरिरहेको छ।

घटनाको वास्तविकता के हो अनुसन्धानकै क्रममा भए पनि यसको दोषी रिया हुन् भन्ने आशयका विभिन्न खाले समाचार तथा अभिव्यक्ति भारतीय मिडिया तथा मानिसले लगातार दिइरहेका छन्। भारतीय प्रहरीले झुट बोलेको भन्दै रियालाई थप्पड पनि वर्षाएको छ। यस अवस्थामा केही अभिनेत्री भने रियाको समर्थनमा बोल्न थालेका छन्। सबैभन्दा पहिले अभिनेत्री तापसी पन्नु एक ट्विट गर्दै रियाको समर्थनमा बोलेकी थिइन्। त्यसपछि विद्या बालन तथा दक्षिण भारतीय अभिनेत्री लक्ष्मी माञ्चुले रियालाई साथ दिँदै आएका छन्।

विद्या बालनले लेखेकी थिइन्– ‘यो दुर्भाग्यपूर्ण कुरा हो कि हाम्रो प्यारो युवास्टार सुशान्तसिंह राजपुतको निधन मिडिया सर्कस बनिरहेको छ। महिला हुनाका कारण रियाप्रति भइरहेको घटनाले मेरो दिल टुटिरहन्छ। एक नागरिकको संवैधानिक अधिकारको सम्मान गरौं र कानुनलाई आफ्नो काम गर्न दिऔं।’

यसभन्दा अघि सुशान्तको निधनको लगभग साढे दुई महिनापछि तापसी पन्नुले सुशान्तको आत्महत्याको मामलामा एक पोस्ट गरेकी थिइन्। तर, मानिसहरूलाई उक्त पोस्ट मन नपरेका कारण उनी आफैं ट्रोल हुन पुगेकी थिइन्। तापसीले लेखेकी थिइन्– ‘व्यक्तिगत हिसाबले म सुशान्त र रिया दुवैलाई चिन्दिनँ। तर, यति थाहा छ कि न्यायपालिकाले भन्दा पहिले कसैले कसैलाई दोषी सावित गर्नु गलत हो। कानुनमाथि विश्वास गरौं।’

अर्की अभिनेत्री शिवानी दांडेकरले लेखेकी छन्– ‘म रियालाई १६ वर्षको उमेरदेखि चिन्दै आएकी छु। उनी जीवन्त, मजबुत थिइन् भने उनको जिन्दगी चमकताले भरिएको पाउँथे। तर, केही महिनायता उनको व्यक्तित्व यसको विपरीत बदलिएको देख्छु। हामी देख्न सक्छौं पूरा मिडिया उनीमाथि गिद्धले शिकारमाथि गर्ने जस्तो व्यवहार गरिरहेका छन्। उनी तथा उनको परिवारलाई टर्चर दिइरहेका छन्।’ शिवानीको यो पोस्ट निकै भाइरल भएको छ भने रियाको पक्षमा बोल्नेहरूले यसलाई समर्थन गरिरहेका छन्।