न्युज अफ नेपाल, ललितपुर ।
देश र जनताको कल्याणको लागि रातो मच्छिन्द्रनाथ रथयात्राको विकल्प रथयात्रा नै रहेको सरोकारवालाले बताएका छन् ।
ज्योतिषी, पानेजु र रथ बनाउने बाराही, यँग्वाल, घकूहरुको संयुक्त बैठकले गरेको निर्णयबारे जानकारी दिँदै सो कुरा बताएका हुन् । रथयात्राको लागि निरन्तर ललितपुर महानगरपालिका, गुठी संस्थानलाई निरन्तर घचघच्याउने, पहलकदमी गदै आएका सरोकारवालाहरुको पछिल्लो बैठकले रथयात्राको विकल्प नभएको नीष्कर्ष निकालेका हुन् ।
‘ कोरोनाबाट जोगिँदै रथ तान्ने खाका तयार गरेका छौं । त्यही खाका अनुसार स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर रथयात्रा गराउँदा देश र जनता सबैको कल्याण हुने छ । ’ रातो मच्छिन्द्रनाथका ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले भन्नुभयो । सरोकारवालाहरुले तयार पारेको खाका अनुसार रथ तान्ने रुटमा रथ तान्ने अवधिसम्म निषेधाज्ञा जारी गरेर रथ तान्न सकिने छ ।
कोरोनाको कारण देखाउँदै रथयात्रा नगर्ने हो भने रातो मच्छिन्द्रनाथको स्नान, रथ निर्माण किन गराइएको भन्दै ह्यगृब भैरव नाथ ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले भन्नुभयो ‘ रथयात्रा नगर्ने हो भने रथ किन बनाएको त ?, कसको निर्देशनमा रथ बनाइयो ?’
‘रथ बनाईसकेपछि रथारोहण र त्यस लगतै रथयात्रा अनिवार्य प्रक्रिया नै हुन् । यसलाई रोक्नु भनेको सयौं वर्षदेखि चल्दै आएको धार्मिक, सांस्कृतिक परम्पराको खेलवाड हुनु हो। यसले भोलि धर्म ,सस्कृति र मास्ने तर्फ समाज जान सक्ने खतरा रहन्छ ।’ बाराही समाजका नाइके दिलकुमार बाराहीले भन्नुभयो।रथ बनाउने, रथारोहण गरेपछि रथयात्रा नगर्ने हो भने धार्मिक, सांस्कृतिक परम्परा खल्बलिने सक्ने खतरा पनि शाक्यले औल्याउनुभयो ।
यसैबीच अहिलेको विशेष परिस्थितिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी जवानबाट रथ तान्ने बारे पनि सरोकारवालाहरुबीच छलफल भइरहेको छ । यसबारे ठोस निर्णय भने हुन बाँकी रहेको बताइएको छ ।
प्रतिक्रिया