राष्ट्रव्यापी बुद्धिचाल उपाधि विवेकलाई


हेटौंडा, (नेस)
हेटौंडा जेसिज राष्ट्रव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ। देशभरबाट १ सय ४० प्रतिभावान् खेलाडीले सहभागिता जनाएको प्रतियोगिताका ११ खेलमा ९ जित, १ बराबरी र १ हार खेलेर उच्च वरीयताका साथ सिएम विवेक थिङले उपाधि हात पारेका छन्।

युवा खेलाडी सुश्रुत दाहाल दोस्रो र एफएमका मनिष हमाल तेस्रो भएका छन्। राष्ट्रका सबै शीर्ष खेलाडीले खेलेको खेलमा २४ विधामा पुरस्कार प्रदान गरिएको थियो।

२१ हजार ५ सय उपाधि रहेको अनलाइन प्रतियोगितामा यो सर्वाधिक राशि भएको आयोजकले जनाएको छ। स्विसलिग आधारमा ११ राउन्ड खेल सबै खेलाडीले खेलेका थिए। पुरस्कार तथा खेलाडी दर्तालगायत आर्थिक कारोबार ई–सेवा र खल्तीलगायत अनलाइन कारोबार गर्ने एप्समार्फत सहज बनाइएको थियो।