वीरगन्जमा ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार


नेपाल समाचारपत्र, वीरगन्ज
वीरगन्जमा पहिलोपटक कोरोना संक्रमितलाई ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गरिएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुरका ३५ वर्षीय पुरुषलाई प्लाज्मा थेरापीबाट उपचार शुरू गरिएको हो ।
नारायणी अस्पतालमा उपचाररत उहाँलाई आइतबार राति संक्रमणमुक्त व्यक्तिको ‘प्लाज्मा’ दिइएको डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।

उहाँलाई नारायणी अस्पतालकै स्टोर शाखा प्रमुख दामोदर अधिकारीले प्लाज्मा दिनुभएको हो । कडा खालको कोभिड निमोनिया देखिएका उहाँलाई नारायणी अस्पतालको आईसीयूमा सीपीएपीको सपोर्टमा राखिएको छ । ७ दिनदेखि ज्वरो, ५ दिनदेखि खोकी, २ दिनदेखिको श्वास–प्रश्वासको समस्या लिएर भदौ ३ गते उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । शंकास्पद कोभिडको लक्षण देखिएका कारण उहाँको पीसीआर परीक्षण गर्दा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिरामीको रगतमा पनि समस्या देखिएको डा. सिंहले बताउनुभयो । ‘प्लाज्मा राति दिएका छौं, स्वास्थ्यमा सुधार आएनआएको हेर्दैछौं’, उहाँले भन्नुभयो– ’रगत परीक्षण गर्दा डीआईसी भएको रहेछ । रगत पातलो गर्ने औषधि पनि चलाएका छौं ।’ चिकित्सकका अनुसार डीआईसीलाई रगतको जटिल समस्याका रूपमा मानिन्छ । यसमा रगत बाक्लो हुने हुँदा शरीरका स–साना रक्तनलीहरुमा रगत प्रवाह बन्द हुन सक्छ ।

यसैबीच वीरगन्जमा गरिएको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ६ वर्षदेखि ७० वर्ष उमेर समूहकालाई संक्रमण देखिएको हो ।

संक्रमितमध्ये ८ जना महिला छन् । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार पर्साका ३२ जना, बाराका ४ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण देखिएको छ । एक जना ३० वर्षीय पुरुषको ठेगाना उल्लेख छैन । पर्साको ३२ जनामध्ये २१ जना वीरगन्ज महानगरपालिकाका, ९ जना कालिकामाईका र २ जना जिराभवानीका हुन् ।

महानगरपालिकाको वडा नं ११ मा १२ जना, वडा नम्बर २० का २ जना, वडा नं २ का ३ जना, वडा नं ५, ६, १३ र १५ का १–१ जनामा कोरोना देखिएको छ । कालिकामाई गाउँपालिका–१ मा ४ जना, वडा नम्बर ४ मा ४ जना, वडा नं ३ मा एक जना तथा जिराभवानी–२ का दुई जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बाराको कोल्हबी नगरपालिकाका ३ जना, महागढीमाई–११ का १ जनामा र सर्लाहीको रामनगर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको इर्मजेन्सीमा भर्ना भएका ४ जनाको जिन एक्सपर्ट टेस्ट गरिकोमा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।