सरकारी कार्यालयमा अझै हटेन भीड


नेपाल समाचारपत्र, पर्वत
समुदायस्तरमा कोरोना संक्रमण नदेखिए पनि पर्वतको सदरमुकाम कुस्माबजारमा भीडभाड नगर्न कडाइ भइरहँदा एक कार्यालयमा भने अत्यधिक भीड देखिएको छ ।
सदरमुकाम कुस्माबजारमा रहेको पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइको कार्यालय परिसरमा आइतबार र सोमरबा दिउँसो अत्यधिक भीड देखिएको हो ।

कोरोना संक्रमणको जोखिमका कारण सरकारले कहींकतै पनि भीडभाड नगर्न आग्रह गरिरहेका बेला भूकम्पबाट क्षतिग्रस्त घर र संरचनाको पुनरावेदन गर्ने अन्तिम मिति भएकाले कार्यालयकै अगाडि बिनामास्क भीडभाड थियो । सामाजिक दूरी कायम गर्नुपर्ने प्रशासनको आग्रहलाई खिल्ली उडाउँदा सरकारी कार्यालयले नै कोरोना संक्रमणबारे ध्यान नदिएको प्रस्ट देखिन्थ्यो ।

कोही सेवाग्राही सेवा लिन कार्यालयको झ्यालमा कोचाकोच हुने गरी उभिएका थिए, कोही मुख्य सडकको पेटीमा बसेका देखिन्थे । सडकमा मास्क नलगाई हिँड्नेलाई नियन्त्रणमा लिएर जरिवाना तिराइरहँदा कार्यालयमा भएको भीडभाडमा भने कसैको ध्यान पुगेको थिएन । गाउँमा रहँदा सुरक्षा र सतर्कताको मापदण्ड नअपनाएका नागरिक सदरमुकामको कार्यालयमा एकैपटक जम्मा हुँदासमेत स्वास्थ्य सतर्कता अपनाएका थिएनन् ।

जिल्ला आयोजना प्रमुख कृष्णराज गौतमका अनुसार भूकम्पबाट घर क्षति भई निवेदन दिएर पनि नपरेकाहरू सेवा लिन आउँदा भीडभाड भएको बताउनुहुन्छ । घर भत्किएको दाबीसहित आफूलाई लाभग्राहीका रूपमा कायम गरियोस् भनेर निवेदन दिनेहरूलाई अन्तिम मिति सोमबारसम्म तोकिएकाले कार्यालयमा एकैपटक भीड बढेको गौतमको भनाइ छ ।

‘आइतबार करिब चार सयभन्दा बढी गैरलाभग्राहीले लाभग्राही बनाई पाउँ भनी निवेदन दिँदै पुनर्निर्माण प्राधिकरणको निर्णयउपर पुनरावेदन गर्दा सोमबार पनि सेवाग्राहीको उपस्थिति बाक्लो भएको हो’, उहाँले भन्नुभयो– भीड बढेपछि हामीले सामाजिक दूरी कायम गर्न र पालोअनुसार निवेदन दर्ता गराउन भनेको भए पनि उहाँहरूले नमानेपछि बाध्य भएर प्रहरी बोलाएर भीड हटाउने अवस्था आयो ।’

निवेदन दर्ता भएपछि त्यसको ३५ दिनभित्र पुनरावेदन गर्न पाउने भए पनि पटक–पटक भीडभाड हुने भएकाले निवेदनसँगै पुनरावेदनसमेत लिएर आउँदा भीड हुनबाट जोगाउने प्रयास गरेको गौतमको भनाइ छ । पर्वतमा हालसम्म ६ हजार ६ सय जना लाभग्राहीका रूपमा सूचीकृत भएका छन् । तीमध्येका ५१ प्रतिशतले मात्र घर निर्माणको काम पूरा गरेका छन् । पहिलो वा दोस्रो किस्ता बुझेर पनि घर पूरा नगरेकालाई आगामी चैतसम्म निर्माण गरिसक्नुपर्ने भनी ताकेता गरिएको छ ।