मास्क नलगाएको निहुँमा विप्लवका दुई नेता प्रहरी हिरासतमा, सर्वोच्चद्वारा थुनामुक्त गर्न आदेश


विकास भट्टराई, काठमाडौं । 
मास्क नलगाएको निहुँमा नेकपा माओवादी (विप्लव) समूहका उमा भुजेल र सुमनसिंह पौडेल एक महिनाभन्दा बढी प्रहरी हिरासतमा रहनुपरेको छ । विनाकारण बन्दी बनाइएको उल्लेख गर्दै सर्वोच्च अदाललते भुजेल र पौडेललाई रिहा गर्न आदेश दिएबमोजिम उनीहरु आइतबार मुक्त भएका छन् ।

भुजेललाई हातहतियार तथा खरखजाना मुद्दामा २०७७ साल साउन १२ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । भुजेललाई सुनसरी जिल्ला अदालतले उक्त मुद्दामा साधारण तारेखमा छुटाउन आदेश दिएको थियो । छुटेकै दिन यही भदौ २ गते इलाका प्रहरी कार्यालय, कञ्चनपुर सप्तरीको प्रहरी टोलीले भुजेललाई पुनः पक्राउ गरेको थियो ।

त्यसपछि अभद्र व्यवहार गरेको आरोपमा भुजेललाई जिल्ला प्रशासन कार्यालय, सप्तरीमा पेस हुँदा १५ दिन थुनामा राख्ने अनुमति दिइएको थियो । यसरी गत साउन १२ गतेदेखि गैरकानुनीरुपमा बन्दी बनाएर राखिएको उल्लेख गर्दै भुजेलका तर्फबाट प्रतिमा भुजेलबाट सर्वोच्चमा रिट निवेदन दायर भएको थियो ।

भुजेललाई पक्राउ गर्नुको कारणसहित रिट निवेदनमा उल्लेख भएका विपक्षीबाट लिखित जवाफ सर्वोच्चमा पठाएका थिए । लिखित जवाफमा मास्क नलगाई बाटोमा हिँड्नुपर्ने कारणबारे सोध्दा भुजेलले प्रहरीमाथि अभद्र व्यवहार गरेकोले पक्राउ गर्नुपरेको उल्लेख छ ।

यसै गरी पौडेलविरुद्ध पनि पहिले हातहतियार तथा खरखजाना मुद्दा लगाइएको थियो । पौडेललाई पनि सुनसरी जिल्ला अदालतले साधारण तारेखमा छोड्नासाथ प्रहरीले पक्राउ गरेको थियो । पछि पौडेललाई पनि अभद्र व्यवहारसम्बन्धी मुद्दामा कारबाही अगाडि बढाइएको थियो । उहाँलाई पक्राउ गर्नुको दाबी पनि मास्क नलगाई हिँड्नुको कारण सोध्दा प्रहरीमाथि नै अभद्र व्यवहार गरेको भन्ने छ ।

सर्वोच्चले ती दुईलाई गैरकानुनीरुपमा थुनामा राखेको निष्कर्ष निकाली उनीहरुलाई रिहा गर्न आदेश दिएको छ । आदेशमा उनीहरुलाई फरक विचार र आस्थाका कारण थुनामा राखिएको स्पष्ट गरेको छ ।

आदेशमा भनिएको छ– ‘स्पष्ट आधार र कारणविना प्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएबाट यी निवेदकको हकमा विपक्षीहरुको नाउँमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’

बन्दी बनाइएका भुजेल र पौडेलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता एकराज भण्डारीले ती दुई बन्दीलाई सम्बन्धित जिल्ला अदालतका न्यायाधीशको रोहबरमा रिहा गर्न सर्वोच्चले आदेश दिएको जानकारी दिनुभयो । उमा भुजेल विप्लव समूहका केन्द्रीय सदस्य हुन् ।