‘आत्मविश्वास कायम राखौं,कोरोना जितिन्छ’


न्युज अफ नेपाल,हेटौंडा।

हेटौंडा–१० घर भएकी ७० वर्षीया सबिता पाण्डे सोमबार विहान स्वाब परीक्षणका लागि श्रमिक माध्यमिक विद्यालय पुग्नुर्भको थियो । उहाँले पहिलो स्वाब परीक्षण भदौ २ गते गराउनुभएको थियो । स्वाबको रिपोर्ट पोजेटिभ आएपछि चौधांै दिनमा पुनः परीक्षणका लागि आएको उहाँले बताउनुभयो ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बस्दै आउनुभएकी उहाँमा हल्का ज्वरोमात्र आएको र रुघाखोकी केही नलागी कोरोना टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । ज्यानमा दीर्घरोग भएर नियमित औषधीसेवन गर्दै आइरहनुभएकी पाण्डे कोरोनाले प्रभाव नपारेको बताउनुहुन्छ । ‘आफूलाई नपर्दा कोरोना भनेको केके न हो जस्तै लाग्थ्यो । तर, अरुले लगाएको गफ भन्दा निकै फरक रहेछ कोरोना,’ उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो–केही होइन भन्दैमा लापरबाही चाँही गर्नु हुँदैन । तातोपानी खाने, आराम गर्ने र पीर नमान्ने हो भने कोरोनाले केही गर्न सक्दैन । मुख्य कुरा कोरोनाबारे डर लाग्ने गरेर प्रचार गर्दा पनि मान्छे आत्तिने गर्छन् । म ७० वर्षकी रोगी महिलालाई त कोरोनाले गाह्रो अबस्था पारेन भने बेकारमा किन डराउने ?

आबश्यक स्वास्थ्य उपाय अपनाउने हो भने कोरोना भाइरस सामान्य भाइरल ज्वरो जस्तोमात्र भएको उहाँको अनुभव छ । हेटौंडामा कोरोना परीक्षणको रिपोर्ट आउन एकदम ढिला गरेका कारण पनि कोरोना फैलने गरेको उहाँको दाबी छ ।उहाँमात्र होइन, पुनः परीक्षणका लागि स्वाब दिन कर्रा आइसोलेसनमा पुग्नुभएका हेटौंडा–१, चाइनाक्वार्टरका ८२ वर्षीय कृष्णप्रसाद दाहालले पनि उस्तै अनुभव सुनाउनुभयो ।

दाहालसहित उहाँकी पत्नी ७१ वर्षीया नन्दकुमारीलाई पनि कोरोना पोजेटिभ आएपछि दाहाल दम्पती होम आइसोलेसनमा बस्नुभएको थियो । पहिलोपटक भदौ २ गते स्वाब दिएर आएदेखि दुवै जना सुरक्षितसँग घरमा बस्ने गर्नुभएको थियो । नन्दकुमारी नियमितरुपमा थाइराइडको औषधी खाइरहनुभएको छ भने कृष्णप्रसादले पनि नियमितरुपमा मधुमेह र उच्च रक्तचापको औषधी खाने गर्नुभएको छ ।

ज्यानमा अरु रोग हुने मानिसलाई कोरोना भाइरस संक्रमण हुने बित्तिकै मरिन्छ भन्ने गलत भएको दाहालको भनाइ छ । रोग भन्दा धेरै हल्ला फिजाएर त्रास बढाउने काम गरिएको उहाँको ठोकुवा छ । उहाँले भन्नुभयो–खानपानमा ध्यान दिइयो भने कोरोना सजिलै पचाउन सकिने रोग रहेछ । पोहोरपरार भाइरल ज्वरो आउँदा पनि यो भन्दा धेरै नै गाह्रो हुन्थ्यो तर, अहिले त्यस्तो केही समस्या परेको छैन ।

हामी दुवै जना स्वस्थ्य छौं । ज्वरो आउँदा सिटामोल खायौं । तातोपानी र जाउलो खायौं । सुरुसुरुमा हल्का ज्वरो आएर खोकी लागेको थियो । अहिले त त्यो पनि ठीक भइसकेको छ । अब आउने रिपोर्टमा कोरोना नभएकै आउला भन्नेमा ढुक्क छौं ।‘घरमा डरले आत्तिएर बसेका हामीजस्तै उमेरका मानिस डराउनै नपर्ने रहेछ,’ उहाँहरु भन्नुहुन्छ–केही हँुदैन, मनोबल बढाएर बस्यौं भने कोरोनाले रोगी र बुढापाकालाई पनि केही गर्दो रहेनछ । केही दिनमा कोरोना जित्नसक्ने उहाँहरुमा आत्मविश्वास छ ।

कोरोना बिरामीको संख्या पनि निकै बढ्दै गएको छ । कोरोना लाग्दैमा डराउनु नपर्ने रहेछ भन्ने ज्ञान अब बढ्न थालेको छ । कोरोना भनेको सामान्य रुघाखोकीमात्रै रहेको संक्रमितहरु बताउँछन् । शरीरमा दीर्घरोग लिएर बाँचेकालाई कोरोनाको डर नै नलागेको बताउन थालेका छन् ।

विशेषगरि बृद्धबस्थामा यो रोगको जोखिम रहेको स्वास्थ्यविज्ञहरुले बताउने गरेका छन् । तर, कोरोना भाइरसबारे अरुले प्रचार गर्ने भन्दा निकै फरक रहेको र सोचेजस्तो गम्भीर रोग नभएको कोरोना संक्रमित बृद्धले बताएका छन् । नेपालमा मृत्यु भएकामध्ये धेरैजसो बृद्ध तथा दीघरोग भएका रहेको स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ ।

जसका कारण बृद्धमा त्रास फैलिरहेको छ–कँही हामीलाई पनि कोरोना त हुँदैन ? यदि कोरोना लागिहाल्यो भने त हामी मर्ने पो रहेछौं, के गर्ने होला ? यस्ता खालका त्रासका कारण पनि उमेर बढी भएका बुढापाकालाई पीर थपिने गरेको छ । तर, कोरोना लाग्दैमा डराउनु नपर्ने बृद्ध संक्रमितले बताएका छन् । सन् २०१९ डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसले नेपाललाई पनि निकै त्रसित पारेको छ ।