मूलपानीलाई दुई स्वर्ण


काठमाडौं, (नेस)
मूलपानी तेक्वान्दो डोजाङले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा २ स्वर्ण जितेको छ।
काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन ६ स्पर्धाको नतिजा आउँदा मूलपानीले २ स्वर्ण जितेको हो। त्यसबाहेक मूलपानीले ३ रजत र २ कांस्य पनि हात पा¥यो। विजेश्वरी आवासीय मावि, कैलाली, रूपन्देही र चितवनले समान १–१ स्वर्ण जितेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्।
यु–१२ पुरुष एकलमा मूलपानीका भिजन तामाङ पहिलो भए। उनले ६ दशमलव ३३ अंक जोडे। काभ्रेस्थलीका मिराज केसी (६ दशमलव २३) दोस्रो तथा मूलपानीका रोनिश नगरकोटी (६ दशमलव १३) र मूलपानीकै ईश्वर पराजुली (६ दशमलव शून्य ३) तेस्रो भए। सोही स्पर्धाको महिलामा विजेश्वरीकी पूर्णिमा बस्नेतले स्वर्ण जितिन्। त्यस्तै, पूर्णिमाले ६ दशमलव ९३ अंक जोडिन्। मूलपानीकी मेलिना राई (६ दशमलव ५०) ले रजत तथा गोदावरी फिट्नेसकी सर्गम थापा (६ दशमलव ३०) र काभ्रेस्थलीकी सुस्मिता कार्की (६ दशमलव २०) ले कांस्य हात पारे।
यु–१५ पुरुष एकलमा कैलालीका अमनकुमार कठारिया ६ दशमलव २६ अंकसहित शीर्ष स्थानमा रहे। मूलपानीका आयुष ढुंगेल (६ दशमलव १४) द्वितीय तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ (६ दशमलव १३) र चन्द्र सूर्यका योग्य राई (६ दशमलव शून्य ६) तृतीय बने। त्यस्तै, स्पर्धाको महिलामा चितवनकी आँचल बाजपईं पहिलो भइन्। आँचलले ६ दशमलव ४६ अंक प्राप्त गरिन्। ६ दशमलव ३३ अंकसाथ मूलपानीकी प्रगति कुइकेल दोस्रो भइन्। विजेश्वरीकी प्राप्ति पुन (६ दशमलव १६) र काभ्रेस्थलीकी विनिशा खड्गी (६ दशमलव १०) ले तेस्रो स्थान हासिल गरे।
पुरुष ३१–४० वर्ष उमेर समूहको एकलमा रूपन्देहीका सुरज श्रेष्ठ पहिलो भए। उनले ५ दशमलव ९३ अंक जोडे। मैत्रीका रामचन्द्र व्यञ्जन्कार (५ दशमलव ६६) दोस्रो तथा बाग्लुङका नन्द विष्ट (५ दशमलव ५६) र योन्सुफका दुर्गामान तामाङ (५ दशमलव ३६) तेस्रो भए। उक्त स्पर्धाको महिलामा मूलपानीकी तृप्ति बूढाथोकीले डाइनामिककी जानकी तामाङलाई पछि पार्दै स्वर्ण चुमिन्। तृप्तिले ५ दशमलव ४३ तथा जानकीले ५ दशमलव १६ अंक जोडिन्।
दुई दिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्। पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश छन्। दोस्रो तथा अन्तिम दिन बाँकी ५ स्वर्णको टुंगो लाग्नेछ। अध्यक्ष खड्कासहित मीन न्यौपाने, हिराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्।