आर्सेनललाई एफए कम्युनिटी शिल्ड


लन्डन, (एजेन्सी)
आर्सेनलले इंग्लिस घरेलु फुटबल प्रतियोगिता एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ।
प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनलमा यस सिजनको इंग्लिस प्रिमियर लिग विजेता लिभरपुललाई टाइब्रेकरमा ५–४ ले हराउँदै आर्सेनलले उपाधि जितेको हो। योसँगै आर्सेनलले नयाँ प्रशिक्षकको नेतृत्वमा दोस्रो उपाधि जितेको छ।

निर्धारित ९० मिनेटको समयसम्म दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय नथपि सोझै टाइब्रेकरमार्फत खेल विजेताको छिनोफानो गरिएको थियो। जसमा आर्सेनलले बाजी मार्न सफल भयो। लिभरपुल भने पेनाल्टी सुटआउटमा अभागी बन्यो।

लिभरपुलका खेलाडीले तेस्रो पेनाल्टी गुमाउँदा त्यसको फाइदा आर्सेनलले उठायो। लिभरपुलका लागि युवा खेलाडी हिर्यन ब्रिउस्टरले पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए। आर्सेनलका लागि पाँचौं र निर्णायक पेनाल्टीमा पियरे इमरिक औबामेयाङले गोल गरेपछि लिभरपुलले पाँचौं पेनाल्टी हान्न नपाई आर्सेनलले उपाधि उचालेको थियो।
त्यसअघि खेलको निर्धारित ९० मिनेटको समयमा आर्सेनलले खेलमा शुरुआती अग्रता लिएको थियो।

प्रतिस्पर्धात्मक उपाधि भिडन्तमा आर्सेनलले खेलको १२औं मिनेटमा अग्रता लिएको थियो। औबामेयाङले शक्तिशाली प्रहारमा उत्कृष्ट गोल गरेका थिए। उनले मैदानको माथिल्लो क्षेत्रको डी बक्स लाइनबाट हानेको कडा प्रहारले सोझै लिभरपुलको गोलपोस्टको जाली चुमेको थियो। उनको उक्त प्रहारलाई लिभरपुलका गोलकिपर एलिसन बेकरले रोक्ने कुनै मौका नै पाएनन्।

तर, खेलको ७३औं मिनेटमा लिभरपुलका लागि ताकुमी मिनामिनोले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरसम्म लम्बिएको थियो। योसमेत आर्सेनलले १६औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ। यता पराजित लिभरपुल भने उक्त उपाधिको १५औं पटकको च्याम्पियन हो।