कालिकोट पहिरोमा परि मृत्यु हुनेको संख्या १० पुग्यो


कालीबहादुर मल्ल, कालिकोट ।

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । दुई जना घाइते भएका छन् । आइतबार बिहान आएको सुक्खा पहिरोले उक्त ठाउँका चार वटा घर पुरेको थियो ।

कालिकोट र जुम्लाको सीमामा रहेको नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यापार गर्दै आएका शुभकालिका गाउँपालिका –७ का ४० वर्षीय परेक शाही, उनका ५ वर्षीय छोरा निराजन, दुई महिनाको छोरा अक्कल, ७ वर्षीया छोरी हिमा रहेको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले वताउनु भएको छ ।

उहाँका अनुसरा मृत्यु हुनेहरुमा सोही ठाउँका ३५ वर्षीय मानवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, उनकी २५ वर्षीय श्रीमती छोइनु,६ वर्षीय छोरा गजेन्द्र, सुर्खेत भेरीगंगाका ४५ वर्षीय आइती खड्का, वीरेन्द्ननगर नगरपालिका इत्राम सुर्खेतका २३ वर्षीय अमृत थापा रहेका प्रहरी प्रमुख ओलियाले जानकारी गराउनु भयो ।

पहिरोबाट पुन्या शाही र स्थानीय अर्जुन हमाललाई जीवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएका सम्पूर्णको उद्धार भैसकेको छ । यस अघि पहिरो परी कालिकोटमा ३२ जनाको मृत्यु भइसकेको छ । बजारमै पहिरो गएपछि त्रास बढेको छ ।