भारतबाट मात्रै ३ लाख ६७ हजार नेपाली फर्किए


काठमाडौं, (नेस)
पाँच महिनाको अवधिमा भारतबाट मात्र ३ लाख ६७ हजार ७ सय नेपाली स्वेदश फर्किएका छन् । कोरोना भाइरसको त्रास बढेसँगै पाँच महिनाको अवधिमा भारतबाट ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किएका हुन् ।
सरकारले सीमा नाकामा कडाइ गरे पनि लकडाउनको अवधिमा एकै दिन हजारौंको संख्यामा नेपालीहरु स्वदेश फर्किएका थिए ।

शुरुमा नेपाल फर्किनेलाई सीमा नाकामा नै क्वारेन्टाइनको व्यवस्था गरे पनि नागरिहरुले सेवासुविधा नभएको भन्दै भागेर आ–आफ्नो घर गएका थिए । पछिल्लो समयमा पनि भारतबाट नेपाल फर्किने नेपालीलाई सम्बन्धित स्थानीय तहले व्यवस्थापनको काम गर्दै आएको छ । भारतबाट स्वदेश फर्कने अधिकांश नेपालीमा पछिल्लो समयमा कोरोनाको संक्रमण देखिएको छ । सुरक्षा निकायले सीमानाकामा कडाइ गरे पनि दैनिकरुपमा तीन सयदेखि १ हजार ५ सयसम्म नेपालीहरु नेपाल फर्किरहेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्त्रिपरिषद्ले खुला गर्ने निर्णय गरेको दशवटा सीमा नाकाबाट दैनिकरुपमा नेपालीहरु भित्रिरहेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘भारतबाट स्वदेश आएका नेपालीलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने र पीसीआर परीक्षण रिपोर्टको आधारमा मात्र घर जाने गरी स्थानीय तहले काम गरिरहेका छन् ।’ उहाँले कोरोना संक्रमणको जोखिम कम गर्नका लागि सीमानाकालाई व्यवस्थित बनाउन सुरक्षा निकाय परिचालन गरिएको बताउनुभयो ।

लकडाउन भएसँगै शुरुको दिनमा भारतबाट आउने नेपालीहरुको संख्या अहिले घट्दो क्रममा रहेको बताउनुभयो । उहाँले लकडाउन शुरु भयदेखि हालसम्म ३ लाख ६७ हजार ७ सय ९ जना नेपालीहरु भारतबाट स्वदेश फर्किएको बताउनुभयो ।

हाल झापा, मोरङ, इलाम, सिराह पर्सा रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर नाका सञ्चालनमा रहेका छन् ।