एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु


अमृत अर्याल, स्याङ्जा
स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
६ वर्षको छोरा काठमाडांैमै छाडेर गर्भवती रहेकी श्रीमतीलाई एम्बुलेन्सको सहारा लिएर आफ्नो घर स्याङ्जा चापाकोट आएका भानुभक्त गैह्रे आफ्नी श्रीमतीको गर्भमा भएको सन्तानको मुखसमेत हेर्न नपाई मृत्युवरण गर्न पुगे । विश्वभर फैलिएको कोरोना संक्रमणले काठमाडौंमा भन्दा घरमा नै बच्चा जन्माउन सुरक्षित हुने सल्लाहबमोजिम उनले गर्भवती श्रीमतीलाई लिएर एम्बुलेन्सको सहयोगमा घर आउँदै गर्दा दुर्घटनामा परे ।
वालिङ–५ मझकोटमा आइतबार बिहान बा२झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा गैह्रेसहित दुई जनाको निधन भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार बिरामी लिएर काठमाडौं गएको एम्बुलेन्समा फर्कंदा चालकसहित ४ जना सवार थिए । दुर्घटनामा चापाकोट–९ का श्याम पंगेनीको पनि निधन भएको छ ।
एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र गर्भवती रहेकी पवित्रा पोख्रेल घाइते भएका छन् । उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पवित्राले श्रीमान् त गुमाइन् नै आफ्नो पेटमा रहेको बच्चालाई समेत जिउँदै जन्माउन नसक्ने भएकी छन् ।
पहिरोले साँघुरो सडक र लामो दूरीको यात्रा हुँदा दुर्घटना भएको अनुमान प्रहरीको छ । एम्बुलेन्स ग्रामीण सडकबाट २ सय ५० मिटर तल झरेको प्रहरीले जनाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।