कोरोना संक्रमित सीतारामको मृत्यु प्रकरण

उच्च अदालत विराटनगरले अस्पतालसँग मगायो विवरण


विकास भट्टराई, काठमाडौं
कोभिड–१९ को संक्रमित सीताराम दाहालको पर्याप्त उपचार नपाई मृत्यु भएको आरोप लागेपछि उच्च अदालत, विराटनगरले दाहालको उपचारको यथार्थ विवरण पठाउन कोसी अस्पताललाई आदेश दिएको छ ।
दाहाललाई कोभिड–१९ को उपचारका लागि गत साउन २६ गते कोसी अस्पतालमा पठाइएकामा पर्याप्त उपचार नपाई सोही महिनाको २८ गते मृत्यु भएको मृतककी छोरी निलिमाको दाबी छ । सो विषय उठान गरी निलिमाद्वारा उच्च अदालत, विराटनगरमा रिट निवेदन दायर गरिएको थियो । सो अदालतका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले संविधान तथा सम्बद्ध कानुनबमोजिम पर्याप्त उपचार पाउने बिरामीको हक हुने भन्दै दाहाललाई अस्पताल लगिएको दिनदेखि मृत्यु भएको दिनको बीचको अवधिमा अस्पतालमा भएका गतिविधिको विवरण पठाउन आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ– ‘निवेदिकाकी बाबु सीताराम दाहाललाई कोभिड–१९को उपचारका लागि कोसी अस्पताल लगिएकोमा न्यूनतम उपचार नै नपाई मृत्यु भएको भन्ने निवेदिकाको भनाइ रहेको हुँदा निज सीताराम दाहाल अस्पतालमा भर्ना भएदेखि निजको निधन हुँदासम्म को–को चिकित्सक वा स्वास्थ्यकर्मीले केकति समयको अन्तरालमा केकस्तो उपचार सेवा प्रदान गरेको हो सोको सम्पूर्ण विवरण देखिने उपचार तालिका सात दिनभित्र पठाउनू भनी कोसी अस्पतालको नाममा लेखी पठाउनू ।’
कोभिड–१९ को संक्रमण भएका र अन्य रोग लागेकाले पर्याप्त उपचार नपाई मृत्युको मुखमा पुग्ने वातावरण भएपछि अदालतले प्रदेश र स्थानीय तहले निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुसँग साझेदारी गरी बिरामीको उपचार गर्न पनि आदेश दिएको छ । अदालतले त्यसरी साझेदारी गरिएको विषय न्यायालयमा पठाउन पनि आदेश दिएको छ ।
कोभिड–१९ को बढ्दो गतिलाई ध्यानमा राखी संक्रमितलाई उपचार गर्न पर्याप्त भेन्टिलेटर, आईसीयू एवं अक्सिजनसहितको थप अस्पताल र स्वास्थ्य सेवाको व्यवस्था गर्न अदालतले सम्बन्धित निकायलाई आदेश दिएको छ ।
पीसीआरको परीक्षण ज्यादै न्यून देखिएको उल्लेख गर्दै अदालतको आदेशमा यसको परीक्षण दायर फराकिलो बनाई रिपोर्ट पनि चाँडै उपलब्ध गराउन भनिएको छ । होम आइसोलेसनमा बसेकाको पनि नियमित स्वास्थ्यको जानकारी लिई आवश्यक उपचारको व्यवस्था मिलाउन र त्यस्तो विवरण पनि राख्न अदालतको अन्तरिम आदेश छ ।
कोभिड–१९ को संक्रमण भएको भन्ने कुनै व्यक्तिलाई लागेमा उसलाई परीक्षणको व्यवस्था मिलाई स्वास्थ्य सेवाको सहजताका लागि आवश्यक टेलिफोनको प्रबन्ध गर्न अदालतको आदेशमा भनिएको छ । अदालतले बिरामीलाई अन्य अस्पतालमा प्रेषण गर्नुपर्दा कुन अस्पतालमा प्रेषण गर्ने हो त्यसको पहिले नै किटान गरी स्पष्ट हुन पनि भनेको छ ।
संक्रमितहरु घरमा नै आइसोलेसनमा बसिरहँदा उनीहरुको अवस्था गम्भीर भई अस्पताल लैजानुपरेमा एम्बुलेन्सको उचित प्रबन्ध मिलाउन र त्यसको जानकारी लिन सक्ने गरी टेलिफोनको व्यवस्था गर्न अदालतले सम्बन्धित निकायलाई आदेश दिएको छ ।
अस्पतालमा रहेका संक्रमितका परिवारलाई सुरक्षाको मापदण्डको अधीनमा रही भेटघाटको व्यवस्था गर्न, गुनासो व्यवस्थापनका लागि उपचार सन्तोषजनक भए नभएको विवरण पठाउन, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीप्रति उजुरी गर्न सक्ने व्यवस्था नभए सोसमेत व्यवस्था गर्न, सुरक्षाको मापदण्ड अपनाई मृतकको दाहसंस्कारमा आफन्तलाई उपस्थित हुन दिन पनि अदालतले आदेश दिएको छ ।
अदालतले दिएका ती आदेशको प्रगति आगामी १५ दिनमा पठाउन अदालतले भनेको छ । यो आदेश अदालतले यही भदौ ८ गते दिएको भए पनि आइतबार मात्र लिखितरुपमा आएको हो ।