कालिकोटमा पहिरोमा परि चार जनाको मृत्यु


न्युज अफ नेपाल,कालिकोट ।

कालिकोट पहिरो घटनामा मृत्यु हुनेको सख्या चार पुगेको छ । उनीहरु सबै एकै परिवारका सदस्य हुन् जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा आइतबार बिहान गएको पहिरोमा मृत्यू हुनेको संख्या चार पुगेको हो । कालिकोट जिल्ला प्रहरीकार्यालयका प्रमूख डिएसपी श्यामबाबु ओलीयाका अनुसार पहिरोमा पुरिएर नाग्म बजारका स्थानीय चार जनाको मृत्यु भएको छ ।

दुई जनाको उद्धार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । मृत्युहुनेमा शुभकालिका गाउँपालिका ७ मुम्राह गाउँका बर्ष ४० का परेक शाही,उनका ७ बर्षिया छोरी हिमा शाही,५ बर्षको निराजन शाही र दुई महिनाको अकल शाहीको मृत्यु भएको हो । परेक शाहीको पत्नी पुन्ना शाही सामान्य घाइते छिन् ।

अर्को एक जना १३ बर्षिय बालक अर्जुन हमालको पनि उद्धार गरिएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ । पहिरोमा परेर बेपत्ता भएका नागरिकको उद्धार कार्य जारी नै छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा उद्धार कार्य चलिरहेको डिएसपी ओलियाले बताउनु भयो । नाग्म बजारमा टेलिफोन नलाग्ने भएकोले सम्पर्क गर्न कठिनाइ भइरहेको छ ।

डिएसपी ओलियाका अनुसार प्रहरी सञ्चार सेट मार्फत मात्र जानकारी आदानप्रदान भइरहेको छ ।मृतक परेक शाहीका परिवार नाग्म बजारका धनपति विकको घरमा किराना पसल गरिरहेका थिए । यस अघि पहिरो परी कालिकोटमा ३२ जनाको मृत्यु भइसकेको छ । ७ जना अझै बेपत्ता छन् । प्रहरी प्रमुख ओलियका अनुसार कम्तिमा ३ जना बेपत्ता रहेको अनुमान गरिएको छ ।

बजारमै पहिरो गएपछि त्रास बढेको छ । यो बजार पहिले देखि नै जोखिमयुक्त थियो । तल तिला नदिले कटान गरिरहेको छ । माथिबाट पहिरो आउन सक्ने खतरा पनि उत्तिकै छ । बिहान ८ बजे मात्र पहिरो गएको थियो । लकडाउनका कारण कुनै पनि परिवार घर बाहिर निस्कन सकेका थिएनन् । यो समाचार तयार पार्दा सम्म पहिरो पञ्छाउने जारी थियो।