कोरोनाले नेकपा कार्यदलको प्रतिवेदन प्रभावित


नेपाल समाचारपत्र, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न तयार भएको प्रतिवेदन कोरोनाको कारण प्रभावित बन्न पुगेको छ । पार्टीको आन्तरिक विवाद समाधान गर्न छ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १७ पृष्ठ लामो सुझावसहितको प्रतिवेदन बुझाइसकेको छ ।

अध्यक्षद्वयले कार्यदलको प्रतिवेदन अध्ययन गरेर शनिवारका लागि सचिवायल बैठक बोलाउनुभएको थियो । तर सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कोरोनाको आशंकामा होम आइसोलेसनमा बसेसँग बैठक स्थगित भएको हो । अध्यक्षद्वयले कार्यदलले बुझाएको प्रतिवेदनमा सहमति जनाएसँगै उक्त प्रतिवेदनलाई अनुमोदन गर्न सचिवालय बैठक बालाउनुभएको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा सहभागी केही व्यक्तिहरुलाई कोरोना पोजिटिभ देखिएको र उक्त बैठकमा रक्षामन्त्री तथा गृहमन्त्रीको समेत उपस्थिति भएका कारणले जोखिम हुन सक्ने आशंका कारण शनिबारका लागि तय भएको बैठक अध्यक्षद्वयको सहमतिमा स्थगित भएको छ । सचिवालयको बैठकमा यही १९ गतेको लागि बोलाइएको छ ।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेता नेपाल घरमै आइसोलेसनमा बस्नुभएको थियो । नेता नेपालको आइसोलेनमा बस्ने अवधि सकिएसँगै शनिवारका लागि सचिवालयको बैठक तय भए पनि थप दुई सचिवालय सदस्यमा कोरोना हुन सक्ने आशंमा सचिवालय बैठकको मिति सरेको छ ।

तीन महिनादेखि जारी विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्दै सहमति कायम गरेर अगाडि बढ्ने विषयमा अध्यक्षद्वय ओली र प्रचण्ड सहमत भइसक्नुभएको छ । ओलीले बाँकी कार्यकाल सरकारको नेतृत्व गर्ने र प्रचण्डले अधिकारसहित पार्टीको कार्यकारी अध्यक्ष बन्ने सहमतिलाई कार्यदलले दिएको प्रतिवेदनअनुसार सचिवालय बैठकले अनुमोदन गरेपछि कार्यान्वयन हुने भएको छ ।

कार्यदलको प्रतिवेदनअनुसार सचिवालयको बैठक झन्डै एक साताका लागि लम्बिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा जुटनुभएको छ । कार्यदलको सुझावअनुसार मन्त्रिमण्डल पुनर्गठनको लागि प्रधानमन्त्री ओलीले केही मन्त्रालय समेत फुटाएर मन्त्रालयको संख्या बढाउने गृहकार्यमा जुटेको बताइएको छ ।

प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा, आपूर्तिमन्त्री लेखराज भट्टसहितका मन्त्रीहरुलाई राख्ने अडानमा रहे पनि अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्रीबाहेकका सबै मन्त्रीहरु नै फेर्नुपर्ने अडानमा रहनुभएको सचिवालयका एक सदस्यले बताए ।