स्पाइनल इन्जुरी अस्पतालमा ३६ संक्रमित थपिए

अस्पतालमा मात्रै १ सय ४ संक्रमित


मोतीराम तिमल्सिना, काभ्रे । 

बनेपा नगरपालिका–१३ साँगामा रहेको स्पाइनल इन्जुरी अस्पतालमा एकै दिन शनिबार प्रादेशिक प्रयोगशाला धुलिखेलमा गरिएको परीक्षणमा ३६ जना संक्रमित थपिएका छन् । अस्पतालमा संक्रमित हुनेहरुको संख्या १ सय ४ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनुभयो ।

स्पाइनल इन्जुरीमा कार्यरत १७ जना कर्मचारी, तालिमकर्ता ११ जना, बिरामी र बिरामी कुरुवा ७२ जना, क्यान्टिनमा कार्यरत ४ जना गरी १ सय ४ जना संक्रमित भएका छन् । जसमध्ये ६५ पुरुष र ३९ महिला रहेका छन् । तीमध्ये शिर मेमोरियलमा अस्पतालमा १ जना, नेपाली सेनाको अस्पतालमा १ जना, होम आइसोलेसनमा ६ जना रहेका छन् । बाँकी सबैलाई अस्पतालले उपचार गराइरहेको छ । अस्पतालको सम्पर्कमा रहेका स्थानीयहरु १२ जनामा संक्रमण देखिएको छ । जिल्लामा संक्रमित हुनेहरुको संख्या २ सय ५८ पुगेको छ ।

स्पाइनल इन्जुरी अस्पतालमा पहिलोपटक भाद्र २ गते एक जना कर्मचारीमा संक्रमण देखिएको थियो भने भदौ ३ गते अर्का एक स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । भदौ ६ गते थप २३ जनामा संक्रमण देखिएसँगै उक्त अस्पतालमा २५ जना संक्रमित भएका थिए । भाद्र १० गते १२ जना बिरामीमा संक्रमण देखिएको थियो । सोही दिन स्थानीयहरु १० जनामा संक्रमण देखिएको थियो ।

त्यहीभित्र जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको परिवारका ७ सदस्यमा कोरोना पुष्टि भएको थियो । भाद्र ९ गते साँगा घर भएका एक परिवारका पाँच जना सदस्यहरुमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले संक्रमण फैलिएको र नियन्त्रणका लागि स्वास्थ्कर्मीहरुको टिम परिचालन गरिएको बताउनुभयो । समुदाय र नागरिक समाजको सहयोगमा मात्र संक्रमण नियन्त्रणमा लिन सकिने भएकाले सचेत रहन डा. झाले आग्रह गर्नुभयो ।

स्पाइनलपछि संक्रमित भएको क्षेत्र धुलिखेल अस्पताल हो, जहाँ ३१ जना स्वास्थ्यकर्मी संक्रमित छन् । प्रहरी २२ जना संक्रमित भएका छन् । शनिबार नै बनेपाको शिर मेमोरियल अस्पतालमा १ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । जिल्लामा ५२ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।