मकवानपुरमा ‘खाद्य बैंक’ सञ्चालन गरिने


वाग्मती ।मदन भण्डारी फाउण्डेशन मकवानपुरले हेटौँडामा ‘खाद्य बैंक’ सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका तथा विपन्न परिवारलाई लक्षित गरेर फाउण्डेशनले अभियानका रूपमा खाद्य बैंक सञ्चालन गर्न लागेको हो ।

फाउण्डेशनले आगामी सोमबारदेखि हेटौँडाको अटोल्याण्ड चोकमा खाद्य पदार्थको सङ्कलन तथा वितरण केन्द्र स्थापना गर्न लागेको फाउण्डेशनका जिल्ला अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक सङ्कटले बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेका तथा न्यून आय भएका परिवारलाई लक्षित गरेर खाद्य बैंक सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

फाउण्डेशनले सोमबारबाट ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियान शुरु गर्न लागेको उहाँको भनाइ छ । अभियानमा नगद तथा जिन्सी दुवै सहयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो । खाद्य बैंकले आवश्यकताका आधारमा जिल्लामा सञ्चालनमा रहेका आइसोलेशन, क्वारेन्टिन तथा वृद्धाश्रममा समेत सहयोग गर्ने उहाँले बताउनुभयो ।