गरुडाका डिएसपी प्रदेश कार्यालयमा तानिए


सञ्जय कार्की,रौतहट ।

मृत्यु हुनु अघि प्रहरी हिरासतमा रहेका गरुडा नगरपालिका–८ निबासी १९ बर्षिय बीजय महराले आफुलाई प्रहरीले चरम यातना दिएको बताएका छन । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगजमा उपचारको क्रममा ती युबकले आफुलाई ईलाका प्रहरी कार्यालय गरुडाले हिरासतमा लिएपछि बासको लौरो, पाईप, बुटले हिर्काएको बताएका छन् ।

उनले बोलेको भिडियोनै यतिखेर सार्बजनिक भएको छ । कर्तब्य ज्यान मुध्दाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय गरुडाले यातना दिएर स्वीकार्न बाध्य पारेपनि आफुले घटना नगराएको बताएपछि प्रहरीले करेन्ट सम्म लगाएर यातना दिएको उनले भिडियोमा बोलेका छन् ।

गत साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएपछि प्रहरीले ७ जना लाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये पाँच जना निर्दोष रहेको भन्दै दलित समुदायले रिहाई हुनु पर्ने माग यसअघिदेखिनै गर्दै आएका थिए ।

प्रहरीले घटनामा संलग्न रहेको स्वीकार गराउन बीजय महरा लाई चरम यातना दिएर मारेको आरोप नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले दाबी गरेको छ । तर प्रहरीले भने मृगौला रोगी महराको उपचारको क्रममा मृत्यु भएको बताउदै आएको छ । उता शनीबार पनि दलित समुदाय सहित स्थानीयले गरुडामा प्रहरी बिरुद्ध प्रर्दशन गरेका छन् ।

निषेधाज्ञाको अबज्ञा गर्दै दोषि प्रहरी माथि कारबाहीको माग राख्दै उनीहरु प्रर्दशनमा उत्रेका छन । यसैबीच ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो लाई प्रदेश प्रहरी कार्यालयमा तानिएका छन्। उनको स्थानमा जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठ लाई खटाइएको छ ।

गृह मन्त्रालयले घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोलेन्द्र निरौलाको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक र रौतहटका अनुसन्धान कार्यालयका उपरिक्षक सदस्य छन् ।