चिरञ्जीवी मास्के, दोलखा
लकडाउनले सदरमुकाम चरिकोटको क्याफेहरू बन्द प्रायः रहे पनि सञ्चालकहरू भने चुप लागेर बसेका छैनन्। अहिले धेरै क्याफे सञ्चालकले स्थानीय तथा काठमाडौंबाट समेत चित्रकार ल्याएर आफ्नो क्याफेको भित्ताहरूमा जिल्लाको विभिन्न पर्यटकीयस्थलको चित्र बनाउने अभियान शुरू गरेका छन्।
सदरमुकाम चरिकोटमा सञ्चालित ड्रिम्स, रोयल क्याफे, किङ्स, दाह्रीबाजे, टुटेपानी, पावन, मिट प्वाइन्ट, किस्मतलगायतका अधिकांश क्याफेले लकडाउनको अवधिमा भित्तामा धमाधम चित्र कोर्न थालेका छन्। सदरमुकाम चरिकोटको बीच बजारमा रहेको ड्रिम्स क्याफेका सञ्चालक भरत रोन श्रेष्ठले आफ्नो क्याफेको भित्ताहरूमा स्थानीय चित्रकार हरि केसीलाई बोलाएर आफ्नो गाउँ क्षेत्रपाको प्रसिद्ध कालाघारी झरना, शैलुङडाँडा, नेवारी सांस्कृतिक पहिचान झल्काउने पहिरनसहितको युवती आदिको चित्र बनाउन लगाएका छन्।
यो लकडाउनको सदुपयोग मात्र हैन, ड्रिम्स क्याफेका सञ्चालक श्रेष्ठ भन्छन्– ‘दोलखाको पर्यटकीयस्थल, सांस्कृतिक परम्परा झल्कने चित्रले क्याफेमा आउने गेस्टलाई आनन्दित तुल्याउने र जिल्लाको पर्यटकीयस्थल घुम्न अभिप्रेरितसमेत गर्ने अपेक्षा लिन सकिन्छ।’ क्याफेका भित्तामा कोरिएका चित्रहरूले कोरोना कहरले आहत भएको मनहरूलाई समेत कफीको चुस्कीसँगै रोमाञ्चित बनाइदिने सञ्चालक श्रेष्ठको अपेक्षा छ।
चरिकोट पेट्रोल पम्प आसपास रहेको टुटेपानीका सञ्चालक प्रवीण श्रेष्ठ पनि क्याफेको भित्तामा गौरीशंकर हिमाल, भोर्लेको झरना आदिको चित्र बनाउने अभियानमा व्यस्त छन्।
क्याफेमा जिल्लाको विभिन्न ठाउँको चित्र बनाउन लगाउँदा लकडाउनपछि क्याफे प्रवेश गर्ने गेस्टले नयाँ अनुभूति गर्न सक्ने र जिल्लाको पर्यटकीयस्थलहरूको प्रचारसमेत हुने प्रवीणको भनाइ छ। चित्र बनाउन स्थानीय चित्रकारलाई नै प्रयोग गरेकाले स्थानीय प्रतिभाको प्रवद्र्धनमा समेत सहयोग पुगेको प्रवीणको ठम्याइ छ।
सदरमुकाम चरिकोटमा रहेको क्याफेका भित्तामा कोरिएका चित्रहरूमा दोलखाको प्रसिद्ध पर्यटकीयस्थलहरू, मठ–मन्दिर, सांस्कृतिक पहिचान झल्कने भेषभुषाले सजिएको आकृति देख्न सकिन्छ। हिजोआज हरेक उमेर समूहका गेस्ट लकडाउन छल्दै ड्रिम्स, किङ्स, टुटेपानीलगायतका क्याफेको भित्तामा कोरिएका विभिन्न आकर्षक चित्रलाई नियाल्दै र त्यसका आडमा ढेसिँदै तस्वीर लिन तम्सिरहेका हुन्छन्।
ड्रिम्स क्याफेमा चित्र कोरिरहेका स्थानीय चित्रकार हरि केसी क्याफेको भित्तामा कोरिएको चित्रमा फोटो खिच्ने जमातले दुई÷तीन दशकअघिको पुस्ताले फोटो स्टुडियोको भित्तामा राखिएका विभिन्न चित्रमा फोटो खिचाउने गरेको विगत स्मरण गराएको बताउँछन्।
प्रतिक्रिया