कोरोना संक्रमित डाक्टरद्वारा संक्रमित बिरामीको परिक्षण ?

0
Shares

भगवती तिमल्सिना, काठमाडौं । 
नेपालमा नयाँ र नौलो कुरा सुन्न र देख्न पाइन्छ । कतै संक्रमण नै नभएका स्वास्थ्यकर्मी बसेको होस्टल घेरेर लखेट्न समाज उत्रिन्छ भने कतै संक्रमित चिकित्सक नर्सले नै बिरामीको उपचार गरिरहेका छन् ।

सुन्दा अनौठो लागे पनि नेपालमा पहिलो पटक यस्तो अभ्यास काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा भएको छ । कोरोना संक्रमित बिरामीको उपचार गर्न कोरोना संक्रमित स्वास्थ्यकर्मी नै खटिएका छन् । उक्त केन्द्रमा ९ जना कोरोना संक्रमित बिरामीको उपचार सोही अस्पतालका कोरोना संक्रमण पुष्टि भएका ९ जना स्वास्थ्यकर्मीहरुले गरिरहेको केन्द्रले जनाएको छ ।

केन्द्रका मेडिकल डाईरेक्टर डा राजु ढकालले संक्रमित दुबै पक्षका व्यक्तिहरु सामान्य अवस्थामा रहेकाले दुबै पक्षको सहमतिमै संक्रमित स्वास्थ्यकर्मीले संक्रमित बिरामीको उपचार गर्ने वातावरण मिलाईएको हो ।

स्पाईनल इन्जुरी केन्द्रमा ९ जना स्वास्थ्यकर्मी र ९ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । संक्रमण देखिएपनि लक्षण नदेखिएकाले दुबै पक्षलाई एउटै आईसोलेसनमा राखीएको डा.ढकाल बताउनुहुन्छ । संक्रमित हुनेमा ८ जना बिरामी, १ जना कुरुवा र केन्द्रका १ चिकित्सक, २ जना फिजियो थेरापीष्ट, ५ जना नर्स र १ जना प्यारामेडिक्स रहेका छन् ।

हाल स्पाईनल इन्जुरी केन्द्रमा ५१ जना बिरामीहरु उपचाररत छन् । ठूलो संख्यामा बिरामी र स्वास्थ्यकर्मी संक्रमित भएसँगै केन्द्रले कन्ट्रयाक ट्रेसिङका आधारमा थप १ सय २० जनाको थ्रोट स्वाब परिक्षणका लागि पठाएको र रिपोर्ट आईनसको जनाएको छ ।

काभ्रे जिल्लामा पछिल्लो समय धेरै कोरोना संक्रमित पहिचान भएकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पूर्व राज्यमन्त्री, समाजसेवी, बालबालिका, संचारकर्मी, सर्वसाधारण, व्यापारी, व्यवसायी गरि बुधवार सम्म १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाले जानकारी गराउनुभयो ।

नेपालमा कोरोना संक्रमणको महामारी भर्खरै सुरुवाती चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा.जोस भेन्डिलियरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमसँगको साक्षात्कारमा मंगलबार उक्त कुरा बताउनुभएको हो । उहाँले नेपालमा अझै संक्रमितको संख्या बृद्धि भै जटिल परिस्थिति आउने बताउँनुभएको थियो ।