प्रहरी ज्यादतीविरुद्ध कार्यालय घेराउ

0
Shares

रौतहट, (नेस)
हिरासतमा रहेका एक युवकको मृत्यु भएपछि स्थानीय बासिन्दाले निषेधाज्ञाको अवज्ञा गर्दै आन्दोलनमा उत्रेका छन् । उनीहरुले प्रहरी ज्यादती बढेको भन्दै बिहीबार इलाका प्रहरी कार्यालय गरुडा घेराउ गरेका छन् ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले आगामी भदौ १४ गतेसम्म जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै प्रहरी हिरासतमा कुटपिट गर्ने दोषी प्रहरीलाई कारबाहीको माग राखेका छन् ।

ठूलो संख्याका स्थानीय र दलित समुदाय आन्दोलित भएका छन् । गत साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्ने क्रममा निर्दोष युवकलाई समेत पक्राउ गरेको भन्दै यसअघिदेखि नै दलित समुदायबाट विरोध हुँदै आएको थियो ।

उनै निर्दोष भनिएका १९ वर्षीय विजयराम महराको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै दलित समुदाय, स्थानीय बासिन्दा र अधिकारकर्मीले इलाका प्रहरी कार्यालय गरुडा घेराउ गर्दै नाराबाजी गरेका छन् । घटनामा संलग्न रहेको स्वीकार गराउन विजयराम महरालाई प्रहरीले निर्घात कुटपिट गरेको र त्यसैको असर उनको उपचारका क्रममा मृत्यु भएको निरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले दाबी गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले हिरासतमा लिइएका विजयराम महराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि मृत्यु भएको बताउनुभयो । उनी बिरामी भएपछि साउन ३ गते गरुडास्थित अनामिका हस्पिटलमा र साउन ४ गते नेसनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जमा भर्ना गरिएको र उपचारका क्रममा उनको मृत्यु भएको उहाँले बताउनुभयो ।

निरञ्जन रामको हत्या भएको भोलिपल्ट इलाका प्रहरी कार्यालय गरुडाले हत्याको आरोपमा गाउँकै १९ वर्षीय विजयराम महरासहित ७ जनालाई पक्राउ गरेको थियो । ‘प्रहरीले पक्रेको दिनदेखि छोरालाई भेट्न दिएन’, महराका बुवा पनिलाल महराले भन्नुभयो– ‘अस्पताल भर्ना गरेको खबर पाएर जाँदा पनि भेटन पाइनँ ।’