प्रभावकारी बन्दै प्रहरी अभियान : तपाईंको मास्क खोइ ?

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण फैलिए पनि पर्वतमा अहिलेसम्म समुदायमा पुगेको देखिँदैन तर पनि उच्च सर्तकतासहित जनचेतना जगाउन प्रहरीले सञ्चालन गरेको ‘एसएमएस’ र ‘तपाईंको मास्क खोइ ?’ अभियान प्रभावकारी बन्दै गएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न र समुदायमा सचेतना जगाउन दुई सातादेखि दुईवटा अभियान चलाएपछि पर्वतको सदरमुकाम कुस्मामा प्रभावकारी बन्दै गएको हो ।

जिल्ला प्रहरी कार्यालयले अन्य सुरक्षा निकायको समेत सहयोग लिएर बजारमा जनचेतना जगाउने, मास्क नलगाउनेलाई कारबाही गर्नेदेखि होर्डिङ बोर्ड राखेर तपाईंका मास्क खोइ भनेर अभियान चलाइरहेको छ । कुस्मा नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा तपाईंको मास्क खोइ अभियानअन्तर्गत अहिलेसम्म कुस्माका बढी मानिसको भीड हुने ५ ठाउँमा होर्डिङ बोर्ड राखिएको छ ।

घरबाहिर निस्किँदा मास्क लगाउन, नियमित साबुनपानीले हात धुन, भौतिक दूरी कायम गर्न अनुरोध गर्दै आएको नगरपालिकाले मानिसलाई सचेत गराउन ठूलो ठूलो ब्यानर टाँसेर सचेत बनाउन शुरु गरेको छ । अहिलेसम्म अग्ला पुल जाने बाटो, नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, शिवालयचोक, मेलमिलापचोकलगायतका ५ स्थानमा होर्डिङ बोर्ड राखिएको छ । कोरोनाबाट बच्नका लागि सामाजिक दूरी, मास्क र सेनिटाइजर (एसएमएस) अभियानका रुपमा अभियान चलिरहेको छ ।

पर्वतको कुस्मामा समुदाय कोरोना अहिलेसम्म फैलिएको छैन । समुदायमै कोरोना परीक्षण गर्दा अहिलेसम्म समुदायमा कोरोना पुगेको भेटिएको छैन । तर, स्वास्थ्य सुरक्षा र सजगता भने निरन्तर जारी रहेको कारण अभियानलाई थप प्रभावकारी बनाउन थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो ।

अभियानका क्रममा सामुदायिक सेवा समाजको सहकार्यमा कुस्मामा बिहीबार जनचेतना जगाउँदै मुख्यबजार क्षेत्रमा पर्चा वितरण गरिएको छ भने सबैलाई मास्क लगाउन अनुरोध गरिएको छ । प्रहरीको एउटा टुकडीले दिनभर माइकिङ गरेर बजारमा मास्क लगाउन, भीडभाड नगर्न तथा सेनिटाइजर प्रयोग गर्न दैनिकरुपमा सूचना प्रवाह गरिरहेको छ । चोकचोकमा खटिएका प्रहरीले मास्क नलगाउनेलाई जरिवाना पनि तिराउने काम गरिरहेको उहाँले बताउनुभयो ।

पर्वतमा सबै सचेत भएमा कोरोना नभित्रिने आफूहरुको ठहर रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । पर्वतका सात स्थानीय तहमध्ये अहिलेसम्म ५ स्थानीय तहमा समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन नमुना संकलन र परीक्षण गरिएको छ ।

कुस्मा र फलेबासन नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकामा कोरोना भेटिएको छैन भने बिहादीमा बुधबार नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । पैंयुमा शुक्रबार नमुना संकलन गर्ने कार्यक्रम छ ।

‘सर्वसाधारण आफैले जानेबुझेर स्वास्थ्य सुरक्षा अपनाउन सकेमा संक्रमण फैलन सक्दैन’, प्रजिअ रेग्मीले भन्नुभयो– ‘नाकामा कडाइ र अन्य सुरक्षाका उपायमा पनि ध्यान दिएका छौं, जसले पर्वतलाई सुरक्षित गर्न सकियोस् ।’