जिल्ला प्रशासन कार्यालयमा झोलुङ्गो


विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सुत्केरी र शिशुसहित प्रशासनिक कामका लागि आएका महिलालाई मध्यनजर गर्दै स्तनपान कक्ष र शिशुका लागि झोलुङ्गोको व्यवस्था गरेको छ ।

कार्यालयको कामका लागि बच्चासहित आउने आमाका लागि गोप्य स्तनपान गराउन र बच्चालाई सुताउन दुई झोलुङ्गो प्रशासन कार्यालय परिसरभित्र व्यवस्थापन गरिएको छ । बच्चाको स्वास्थ्य अवस्था र जीवन सुनिश्चित गर्न स्तनपान सबैभन्दा बढी प्रभावकारी र सरल तरिका रहेकाले घरबाट प्रशासनिक काममा शिशुसहित आएका आमाका लागि लक्षित गर्दै स्तनपान कक्षको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

कार्यालयमा नागरिक सहायता कक्ष, दर्ता चलानी, सेवाग्राहीका लागि निशुल्क इन्टरनेटको सुविधा, स्यानीटाइजर र ज्वरो नाप्ने थर्मोमिटर कार्यालयको गेटभित्रै, सेवाग्राहीका लागि निःशुल्क निवेदन र सेवा लिनका लागि पेश गर्नुपर्ने कागजातको फोटोकपी सेवा उपलब्धसमेत गरिएको प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिनुभयो ।