कालिकोटमा भाद्र १३ गतेसम्म ‘निषेधाज्ञा’ लम्ब्याइयो


कालीबहादुर मल्ल,कालिकोट ।

यहाँ जिल्लामा जारी गरिएको निषेधाज्ञा तिन दिनका लागि थप गर्ने निर्णय भएको छ । बुधबार जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा भदौ १३ गते राती १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जथप गर्नु परेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार चाडपर्वका बेला हुने भिडभाड जिल्लाको तिलागुफा नगरपालिका लगाएतका ठाउमा कोरोना पोजेटि भएका व्यक्तिहरु भेटिएकाले समुदायमा कोरोनाको संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार पछिल्लो समय कालीकोटमा प्रहरी, कर्मचारी र समुदायका नागरिकमा कोरोना संक्रमण देखिएको छ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवाहरू बन्द रहने बताइएको छ । कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गर्दै अन्यत्रबाट कालीकोट जिल्ला प्रवेशमा समेत रोक लगाइएको छ । यस अघि भदौ ५ गते राति १२ बजेदेखि लागू हुने गरी बैठकले बुधबार राति सम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

उक्त आदेश आज राति १२ बजे सकिँदै छ । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो । यस अबधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक कालिकोट जिल्ला भित्र सवारी प्रवेशमा समेत निशेष गरिएको छ ।