‘होम आइसोलेसन हो कि थुनामा बसेको ?’


न्युज अफ नेपाल,हेटौंडा ।

होम आइसोलेसनमा बसेकाहरु चरम बेवास्ताको शिकार भएका छन् । हेटौंडा –१० की शर्मिला श्रेष्ठलाई कोरोना सक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आउनु भएको छ ।होम आइसोलेसनमा बसेको १६ दिनसम्म आफूलाई बेवास्ता गरिएको भन्दै उहाँले सम्बन्धित निकायप्रति गुनासो पोख्नु भएको छ । ‘न फोन आउँछ, न त स्वास्थ्य अबस्थाबारे सोधिन्छ । कस्तो व्यबहार, घरभित्र थुनिएर बेवास्ता यस्तो पनि हुन्छ,’ उहाँले आक्रोश पोख्नुभयो ।

आफैंले फोन गरेर बोलाएपछि बल्ल १६ औँ दिनमा स्वाब संकलन गर्न आएको भन्दै अब रिपोर्ट कुरेर बसेको उहाँले बताउनुभयो । होम आइसोलेसनमा बसेपछि कतैबाट पनि आफूलाई स्वाब संकलन गर्न वा स्वास्थ्य अबस्थाबारे फोनसमेत नगरेको उहाँले गुनासो गर्नुभयो ।
‘मैले त एक किसिमले थुनामा बसेजस्तो आभाष गरें,’ उहाँले भन्नुभयो–मंगलबार मेरो स्वाब लिइएको छ । ७२ घण्टाभित्र स्वाब रिपोर्ट आएन भने प्रशासन कार्यालयमा आफैं गएर धर्ना बस्छु ।

नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले पनि आफूमा सक्रमणपछि होम आइसोलेसनमा बसेको एक हप्तासम्म पनि स्वास्थ्य अबस्थाबारे सम्बन्धित निकायले कुनै चासो नराखेको बताउनुभएको छ ।उहाँले संक्रमित भनेर रिपोर्ट दिइएपछि आफू होम आइसोलेसनमा बसेको र बल्ल स्वाब दिएर रिपोर्टको प्रतीक्षामा रहेको बताउनुभयो । समयमा संक्रमितको स्वाब लिएर समयमै रिपोर्ट सार्वजनिक गर्न उहाँले आग्रह गर्नुभएको छ ।

संक्रमितलाई बेवास्ता गरिएको भन्दै उहाँले तत्काल सरकारले आफ्नो अनुभूति गराउनुपर्ने माग गर्नुभयो । संक्रमितलाई काजकिरियामा बसेजस्तो बनाएर सरकारले लाचारीपन देखाएको उहाँको टिप्पणी छ ।गौरीटार आइसोलेसनमा रहेका संक्रमितहरुले पनि स्वाबको समयमै रिपोर्ट नआएको भन्दै आलोचना गरेका छन् । आइसोलेसनको सरसफाइदेखि व्यबस्थापकीय पक्ष निकै कमजोर रहेको भन्दै संक्रमितहरुले सामाजिक सञ्जालमा दुःखेसो पोखेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) ले दिनप्रतिदिन सक्रमण बढाइरहेको अबस्थामा स्वाबको रिपोर्ट धेरै ढिला आउने गरेकाले यसको चौतर्फी आलोचना भएको छ । यस्तो अबस्थामा सरकारले परीक्षणको दायरा बढाए पनि रिपोर्ट सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै नेपाल तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरीले तत्काल रिपोर्ट सार्वजनिक गर्न माग गर्नुभएको छ ।

संक्रमितहरुलाई थुनेरमात्र समस्या समाधान नहुने भन्दै गिरीले भन्नुभयो–कतिपय संक्रमितहरु घरको आइसोलेसनमा बसिरहेकाले समयमै स्वाब लिन नजाने र लगिएका स्वाबको पनि रिपोर्ट सार्वजनिक गर्न निकै ढिला भएको जनगुनासो बढेपछि तरुण दलले खबरदारी गर्न लागेको छ ।

‘संक्रमितको स्वाब लिएर एक हप्तासम्म रिपोेर्ट सार्वजनिक नगरेपछि संक्रमितको अबस्था कस्तो छ भनेर कसरी थाहा पाउने ?,’ उहाँको प्रश्न छ । ७२ घण्टामा आउने रिपोर्टलाई १० दिनसम्म सार्वजनिक गर्न नसक्ने कार्यप्रति गिरीले आपत्ति जनाउँदै सुधारका लागि आग्रह गर्नुभयो । यदि समयमै सुधार हुन सकेन भने तरुण दल नगर कमिटीले यसविरुद्धमा आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभएको छ ।