दमकलका कर्मचारीमा कोरोना पुष्टि,अब आगो निभाउने कस्ले ?


न्युज अफ नेपाल,हेटौंडा ।

मकवानपुरमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३४ जनामध्ये २ जना नेपाल प्रहरी हेटौंडामा कार्यरत् छन् । अन्य १६ जना हेटौंडा उपमहानगरपालिका कार्यालयमा कार्यरत् रहेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईँले जानकारी दिनुभयो ।
यसअघि मेयर हरिबहादुर महतका चालक र एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप १६ जना कर्मचारीमा कोरोना संक्रमण भएको हो । दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि केही कर्मचारीले मात्र कार्यालय सञ्चालन गर्दै आएका थिए ।मेयर महतका चालकलाई कोरोना संक्रमण भएपछि उपमहानगरपालिकामा कार्यरत् ४८ जना कर्मचारीको स्वाब परीक्षण गरिएको थियो । कोरोना जाँचका क्रममा १६ जना कर्मचारीमा कोरोना संक्रमण भएको हो । उपमहानगरपालिकामा कार्यरत् कर्मचारीमा कोरोना संक्रमण हुनेको सख्या १८ जना पुगेको छ ।

हेटौंडा उपमहानगरपालिकामा कार्यरत् १८ जना कर्मचारीमध्ये १० जना दमकलचालक र यसमा सहयोगी कर्मचारी परेका छन् । दमकल सञ्चालन गर्ने सबै कर्मचारीमा कोरोना संक्रमणपछि अत्यावश्यक सेवाअन्तर्गत् दमकल सञ्चालनमा समस्या भएको उपमहानगर मेयर महतले बताउनुभयो ।दुई वटा दमकलका चालक चार जना र अन्य ६ जना आगो निभाउने काममा खटिने कर्मचारी (फायर मेन) लाई कोरोना संक्रमणपछि दमकलको सेवा दिन समस्या भएको मेयर महतले बताउनुभएको छ ।

दमकल चालक र आगो निभाउने कर्मचारी तालिमप्राप्त दक्ष व्यक्ति हुन् । तत्काल आगो लागिहाले घटनास्थलमा पुग्ने र आगो निभाउने काममा उनीहरु वर्षौंदेखि खट्दै आएका छन् । उपमहानगरपालिका र आसपासका जिल्ला समेतमा २४ सै घण्टा सेवा दिइरहने कर्मचारी कार्यालयको आवासगृहमा बस्दै आएका थिए । उपमहानगरपालिकाका दुई भवनमध्ये दमकल शाखाका सबैजसो कर्मचारीमा कोरोना संक्रमण भएको हो । उपमहानगरपालिकाको दुईवटा दमकल सञ्चालनमा छन् ।