समन्वय समितिका पदाधिकारीको परिवारमा कोरोना संक्रमण

बुधबारसम्म बनेपामा मात्रै ८१ जना, जिल्लामा १७४ प्रादेशिक ल्यावमा एकै दिनमा ५७२ परीक्षण


मोतीराम तिमल्सिना,काभ्रे ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका एक पदाधिकारीमा कोरोना संक्रमण देखिएको छ । यस अघि मण्डन देउपुर नगरपालिकाका वडा अध्यक्षमा कोरोना संक्रमण देखिएको थियो । जिल्लामा जनप्रतिनिधिमा संक्रमण देखिएको यो दोश्रो हो ।
समन्वय समितिका पदाधिकारीको परिवारका ७ जनामा कोरोना देखिएको हो ।

यस अघि उहाँको परिवारमा एक जना सदस्यमा संक्रमण देखिएको थियो । स्पाईनल इन्जुरीमा कार्यरत परिवारको सदस्य सहित २५ जनामा संक्रमण देखिए पछि परिवारका सदस्यहरुको भाद्र ८ गते सोमबार स्वाब संकलन गरिएको थियो । स्पाईनल इन्जुरीमा पहिलो पटक संक्रमण देखिएका कर्मचारीका तीन जना परिवारमा संक्रमण देखिएको छ ।

जिल्लामा संक्रमितको संख्या १ सय ७४ पुगेको छ । बुधबार बनेपा नगरपालिकामा ११ जना संक्रमित थप भएका छन् । बुधबार मात्रै बनेपा नगरपालिका वडा नम्वर १३ मा ११ जनामा संक्रमण देखिएको छ । यो सँगै बनेपा नगरपालिकामा संक्रमण हुनेहरुको संख्या ८१ पुगेको छ । शनिबार एकै दिन ३५ जनामा संक्रमण देखिएको छ भने आईतबार पाँचखाल नगरपालिका वडा नम्वर ४ तामाघाट घर भएकी ३९ बर्षिया महिलामा कोरोना संक्रमण देखिएको छ ।

अन्यत्र कार्य गर्ने महिलाका साथीहरुलाई कोरोना संक्रमण देखिए लगत्तै परिक्षणमा जानु भएको थियो । परिक्षणका क्रममा श्रीमानलाई संक्रमण नदेखिएको र महिलामा संक्रमण देखिएको थियो । उहाँलाई पाँचखाल नगरपालिकाको आईसोलेसनमा राखेर उपचार हुँदै छ । जिल्लामा सबै भन्दा धेरै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमित देखिएका छन् । स्पाईनल इन्जुरीमा १७, धुलिखेल अस्पतालमा ३०, शिर मेमोरियल अस्पतालमा १, बनेपा १, भुम्लु १, पनौती १ गरी ५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

त्यस्तै बैदेशिक रोजगारबाट फर्किएका २५, अस्पतालमा विरामी भएका १२, प्रहरी २२, कानुन ब्यवसायी १, जनप्रतिनिधि १, सर्वसाधारण ६१ र कर्मचारी २ गरी १ सय ७४ जना संक्रमित गरेका छन् । जसमध्ये ६७ महिला र १ सय ७ पुरुष छन् । बनेपा नगरपालिका ८१, धुलिखेल ४९, पनौती १२, पाँचखाल ९, नमोबुद्ध ४, मण्डन देउपुर ३, भुम्लु ८, रोशी ३, तेमाल १, बेथान्चोक १, महाभारतमा २ जना संक्रमित देखिएको छन् । जिल्लामा धुलिखेल अस्पताल, संघीय प्रहरी, स्पाईनल इन्जरी र शिर मेमोरियल अस्पतालबाट संक्रमण फैलिरहेको छ । संक्रमणबाट दु्ई जनाको निधन भईसकेको छ ।

प्रादेशिक ल्यावमा ५७२ स्वाब परिक्षण

धुलिखेलमा शुरु भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा बुधबार मात्रै ५ सय ७२ जनाको स्वाव परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये मकवानपुर, धनुषा, रौतहट, भक्तपुर लगायतका जिल्लाका छन् । जस मध्ये ६४ वटा स्वावमा कोरोना भाईरस संक्रमण देखिएको प्रयोगशालाका हरि विष्टले जानकारी दिनु भयो ।

जसमध्ये मकवानपुर स्थित हेटौडा अस्पतालबाट संकलन गरिएका स्वाबहरु मध्ये ४५ वटा पोजेटिभ छन् भने धनुषा १, रौतहट २, भक्तपुर २ छन् । अरु स्वाब विभिन्न जिल्लाका रहेका छन् । नयाँ संरचना भए पनि जनशक्ति र भौतिक पूर्वाधारको अभावका बीच प्रयोगशालाले सेवा दिन शुरु गरेको छ ।