सञ्चालनमा आएको १७ दिनमै पीसीआर परीक्षण सेवा बन्द

0
Shares

न्युज अफ नेपाल,भद्रपुर ।

कोभिड १९ परिक्षणका लागि पीसीआर प्रयोगशालामा चाहिने पीसीआर प्लेट कभर सकिएपछि बुधबारबाट सेवा बन्द भएको छ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्विस सरकारले उपलब्ध गराएको पीसीआर मेसिन प्रदेश सरकारले मेचीलाइ प्रदान गरेको थियो । परिक्षण सेवा साउन २६ गतेदेखि सञ्चालनमा आएको थियो ।

सञ्चालनमा आएको पीसीआर परीक्षण सेवा दुइहप्ता पछि बन्द भएको अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले जानकारी दिनुभयो । प्रयोगशालामा चाहिने आरएनए एक्स्ट्र्याक्सन र पीसीआर किट स्टकमा भएपनि प्लेट कभर नभएपछि सेवा बन्द भएको उहाँको भनाइ छ ।

पीसीआर परीक्षण सेवा बन्द भएपछि बुधबार जिल्लामा सङ्कलन गरिएको कुनै पनि स्वाब नलिएको उहाँले जानकारी दिनुभयो ।
प्लेट कभर सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयसँग माग गरिसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पीताम्बर ठाकुरले बताउँनुभयो । प्लेट आउन केही दिन समय लाग्ने उहाँको भनाइ छ ।

हालसम्म मेची अस्पतालमा २ हजार ५ सय ८ जनाको कोरोना परीक्षण भइसकेको छ । त्यसमध्ये १४ जनाको रिपोर्ट कोरोना पोजेटिभ र बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।पीसीआर परीक्षण सेवा बन्द भएपछि कैद भुक्तानका लागि झापा कारागार पठाउने कैदीलाई समस्या भएको छ ।

कोरोना जाँच बिनै कारागार पठाएपछि कारागार प्रशासनलाई स्वास्थ्य सुरक्षा चुनौती थपिएको छ । कारागार भित्र अन्य कैदी बन्दीसँग नराखेर कैदीले आफन्त भेटने सेलमा राखिएको झापा कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिनुभयो ।