दीर्घ रोगीको उपचारमा सहयोग गर्न गाउँपालिका अध्यक्षले स्थापना गरे ५ लाखको कोष


मोतीराम तिमल्सिना,काभ्रे ।

रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले ४७ औ जन्म दिनको अवसर पारी गम्भिर प्रकृतिका रोग लागि उपचारमा संकट हुने नागरिकहरुको उपचारमा सहयोग पु-याउने उदेश्यले आफ्नै बाबु आमाको नामबाट ५ लाखको कोष स्थापना गर्ने घोषणा गर्नु भएको छ ।
‘बुबा देवि सिं लामा ७२ वर्षको उमेरमा किड्नीमा भएको समस्याका कारण वित्नुभयो, अहिले मेरो श्रीमती ठुलीमाया पनि छातिको क्यान्सरको उपचार गराई रहनु भएको छ’–अध्यक्ष डिबी लामाले भन्नुभयो – ‘उहाँहरुको उपचारको क्रममा अस्पतालमा विरामीहरुले भोग्नु परेको समस्यालाई नजिकबाट नियालेको छु ।

जो उपचार गराउन असमर्थ छ वा जसलाई थोरै रकमबाट उपचारमा सहज हुन सक्छ त्यस्तो ब्यक्तिलाई कोषबाट सहयोग पु¥याउने उदेश्यले पारिवारीक संरक्षण रहने गरी कोष स्थापना गर्ने घोषणा गरेको हुँ ।’ पहिलो वर्ष ५ लाख रुपैयाको कोष स्थापना हुने अध्यक्ष लामाले बताउनु भयो । आमा चन्द्रकुमारी र स्व बुबा देवीसि लामाको नामबाट स्थापना गरिने कोषमा परिवारका अन्य सदस्यहरुको समेत योगदान रहनेछ ।

इच्छुक अन्य ब्यक्तिहरुले पनि कोषमा रकम सहयोग गर्न सक्नेछन् । कोषबाट प्राप्त हुने बार्षिक ब्याजबाट अवस्था हेरेर गम्भिर प्रकृतिका रोग लागेका ब्यक्तिहरुको उपचारका लागि सहयोग उपलब्ध गराईने अध्यक्ष लामाले बताउनु भयो । बुबा आमाको नामबाट ट्रष्ट गठन गर्ने र कार्यविधि समेत तयार गरी संचालन गर्ने गरी पारिवारीक छलफल पछि आफुले ५ लाखको कोष तत्काल स्थापना गर्न लागेको अध्यक्ष लामाले बताउनु भयो ।

बुबा आमाले समाज प्रति उत्तरदायि बन्न दिएको प्रेरणा तथा अशक्त, अपाङ्गका साथै गम्भिर प्रकृतिका रोगहरुबाट पीडित ब्यक्तिहरुका लागि सहयोग पु-याउन कोषबाट सहज हुने उहाँले बताउनु भयो । अघिल्लो वर्षहरुमा अध्यक्ष लामाले बृद्धाश्रम, बालश्रम तथा अन्य क्षेत्रमा बसोबास गर्ने नागरिकहरुका लागि एक महिनाको तलब बराबरको रकमबाट विभिन्न प्रकारको सहयोग गर्दै आउनु भएको थियो ।

ब्यक्तिगत तर्फबाट गरिएको उक्त कोषको निरन्तरता तथा त्यस्ता ब्यक्तिहरुको सहयोगका लागि स्थापना गरिने कोषको संरक्षणका लागि परिवारका सदस्यहरुले समेत जिम्मेवारी बहन गरेका छन् । रोशी गाउँपालिकाले गम्भिर प्रकृतिका रोग लागेका नागरिकहरुका लागि यातायात खर्च बापत २५ हजार रकम उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले सिमित क्षेत्रका नागरिकहरुका लागि मात्रै सेवा उपलब्ध गराउन सक्ने भएकाले जिल्ला भरका नागरिकहरुका लागि सहयोग पु-याउने उदेश्यले पारिवारीक रुपमा कोषको स्थापना गरिएको अध्यक्ष लामाले बताउनु भयो ।