ब्यक्तिगत दान रकम समेत नगरसभा बाट पारित


सञ्जय कार्की,रौतहट।

ब्यक्तिगत सहयोग गर्ने दान रकम समेत नगरसभा बाट पारित गरेपछि चन्द्रपुर नगरपालिकाको जनप्रतिनिधिहरु आलोचित भएका छन । उनीहरु चन्द्रपुर बासी बाट आलोचित भएका हुन । चन्द्रपुर नगरपालिकाले यस आर्थीक बर्षको लागि भएको छैठो नगरसभामा उपप्रमुख रामरती चौधरीले एक कार्यक्रममा सहयोग स्वरुप बोलेको चन्दा बापतको पाँच हजार रुपैया नगरसभा बाट पारित गराएकी छिन ।

चन्द्रपुर–८ स्थित सन्तपुरमा श्री कृष्ण प्रणामी मन्दिर निर्माणको लागि गत बर्षको साउन महिनामा लगाईएको श्रीमद बितक कथामा उपप्रमुख रामरती चौधरीले पाँच हजार चन्दा रकम सहयोग गर्ने बचन दिएअनुरुप यस आर्थीक बर्षमा सो रकम नगरसभा बाट सर्बसम्मत रुपमा पारित गरिएको छ ।

उहाले मंन्दिर निर्माणको लागि नगरपालिका बाट योजना नभई मंन्दिर निर्माणको लागि ब्यक्तिगत चन्दा दिने बचन दिनु भएको थियो । सो रकम १२ महिना पछि गत असाढ २३ गते सम्पन्न नगरसभा बाट पारित गराउनु भएको छ भने उक्त रकम नगरपालिका बाट अब मंन्दिरको नाममा निकासा दिन बाटो खुलेको छ एक जनप्रतिनिधिले बताए ।

नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरु आफनो क्षेत्र भित्र हुने बिकास निर्माणका कार्यक्रम सहित सभा सम्मेलन, शिलान्यास, उदघाटन कार्यक्रममा सहभागि भैरहदा उनीहरुले चन्दा रकम सहयोग गर्ने भन्दै मिठो भाषण गरेपनि सो रकम नगरसभा बाट पारित गराएर निकासा दिनु नगरबासिको हित बिपरित रहेको जानकारहरु बताउछन ।

यस आर्थीक बर्षमा चन्द्रपुर नगरपालिका बाट वडासमिति, बिषयगत समिति, प्रमुख र उपप्रमुखका योजना पारित गरेपनि गत आर्थीक बर्षमा सम्झौता र कार्यादेश नभएका अधिकास योजनाको रकम भुक्तानी दिन मिल्ने गरी सम्पन्न नगरसभा बाट मिल्दोजुल्दो योजना राखिएको पाइएको छ । चन्द्रपुर नगरपालिकाको सभा बाट सम्बृद्ध नगरपालिका भन्दा बढि फजुल खर्चका योजना अघि सारिएको छ ।प्राथमिकताका क्षेत्रमा भन्दा पनि सभाले अनुगमन र भतामा जोड दिएको छ ।

नगरप्रमुख भौतिक पुर्बाधार बिकास कार्यक्रममा १ करोड, नगरप्रमुख रोजगार प्रबद्धन तथा शिप बिकास कार्यक्रम (१० वडामा ५ लाखको दरले)५० लाख, यस्तै नगरउपप्रमुख बिकास कार्यक्रममा १ करोड, प्रोत्साहन भता १ करोड, बिषयगत समितिको अनुगमन तथा निरिक्षण गर्दा खाना खाजा तथा आतेजाते खर्च बापत १० लाख, योजना अनुगमन तथा निरिक्षण गर्दा खाना, खाजा, तथा आतेजाते खर्च बापत ८ लाख, उपभोक्ता हित संरक्षणको अनुगमन खर्च, बैठक भता तथा अन्य १० लाख, सार्बजनिक सम्पति संरक्षणको लागि ५० लाख, वडास्तरीय अनुगमन समितिको अनुगमन भता २० लाख, नगरपालिका बाहय बाताबरण २० लाख, नगरस्तरीय उपसमिति गठनको लागि २ लाख, नगरसभा संचालन खर्च १५ लाख भिजिट नेपाल २०२० कार्यक्रमको भुक्तानी भुक्तानीको लागि २ लाख ५० हजार, कार्यपालिकाको बैठक भता १० लाख, बिषयगत समितिहरुको बैठक भता ७ लाख बिनियोजन गरिएको छ ।

यसबाट असहयाग, गरिब, बिपन्न परिबार, लक्षित समुहको रोजगारी भन्दा पनि जनप्रतिनिहिरुको कमाउ हुने खालका कार्यक्रम अघि सारिएको पाइएको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको उत्पादन तिर भन्दा पनि खरिद तर्फ मात्र जोड दिएको पाइएको छ ।