पर्वतको कुस्मा नगरपालिकामा बैकल्पिक र टोलमै गएर पठन-पाठन शुरु गरिने


न्युज अफ नेपाल, पर्वत
पर्वतको कुस्मा नगरपालिकामा बैकल्पिक बिधी र टोलटोलमा गएर भएपनि कोभिड १९ का कारण अबरुद्ध पठनपाठन शुरु गरिने भएको छ ।

कुस्मा नगरपालिकाको शिक्षा शाखाले बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरु संग आयोजना गरेको जुम मिटिङ्गमा बैकल्पिक बिद्यी वा टोलटोलमै गएर भएपनि अबरुद्ध भएको पठनपाठन सुचारु गर्ने सहमति बनेको हो ।

लामो समय सम्म पठनपाठन अबरुद्ध हुँदा बिद्यार्थीहरुलाई ठुलो मानसिक तनाब परेका देखिएकाले सुरक्षाका उपाय अबलम्बन गराउँदै जुन बिद्यीबाट सकिन्छ बिद्यालयहरुमा पठनपाठन शुरु गराउने सहमति बनेको छ ।

बिद्यार्थी संख्या कम भएका बिद्यालयहरुमा दुरी कायम गरेर पठनपाठन गराउन सकिने तर बिद्यार्थी संख्या बढी भएका बिद्यालयहरुमा टोलमा पुगेर गृहकार्य दिने, टोलमा शिक्षण गर्ने, बैकल्पिक र अनलाईन बिधीबाट पनि पठनपाठन गराउन अनुरोध गरिएको नगरशिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । ‘पठनपाठन सुरु गर्नका लागि आवश्यक निर्देशन समेत दिइएको छ।’ उहाँले भन्नुभयो ‘आफ्नो बिद्यालयको बस्तुगत अबस्था र बिद्यार्थी संख्याका आधारमा ब्यबस्थापन समिति र शिक्षकको सल्लाहमा मोडालिटी तयार गर्न सक्नेछन’ कतिपय बिद्यालयमा क्वारेन्टाईन रहेका कारण नजिकका बिद्यालयमा बिद्यार्थी पठाएर पनि पढाउन सकिने बिकल्प अघि सारिएको थियो ।

सहभागी बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुले नगर शिक्षाले स्पष्ट निर्देशन दिएपछि पठनपाठन शुरु गर्न सहज हुने धारणा राखेका थिए । कतिपय ठाउँमा शुरु गरेर पनि छाड्नु परेको ग्रामिण क्षेत्रमा अनलाईन कक्षा प्रभावकारी बन्न नसकेको , टोल शिक्षालाई पनि निरन्तरता दिन कठिन भएको जस्ता अनुभव बैठकमा सहभागीले राख्नुभएको थियो ।

भर्चुअल बैठकमा ब्यबस्थापन समिति गठन हुन नसकेका बिद्यालयमा यथाशिघ्र समिति गठन गर्न अनुरोध गरिएको छ । समिति पुर्नगठन गर्न नसक्दा कानुनी समस्या समेत बिद्यालयले झेल्नुपर्ने अबस्था आउने भएकाले बिद्यालयमा शैक्षिक अगुवा, राजनैतिक दल, जनप्रतिनिधी, अभिभावको सहमतिबाट समिति पुर्नगठन गर्न सकिने छ । कुस्मामा पाङ धैरेनी माबि र शिबालय माबिमा केही दिन अघि समिति पुर्नगठन गरिएको छ ।

उक्त बैठकमा बिद्यालयको लेखापरिक्षण गर्न, बुक कर्नर, बिज्ञान प्रयोगशाला, आइसिटी ल्याब स्थापनाका काम तत्काल सक्न र भवन निर्माण लगायतका पुर्वाधार निर्माणका काम सक्न पनि निर्देशन दिइएको छ । बैठकलाई सम्बोधन गर्दै कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले बेरुजु फस्र्योट गर्न निर्देशन दिनुभएको थियो । कोभिड १९ का कारण बिद्यालयहरुले भोगेको समस्या साझा भएकाले संभव भएका बिद्यी अपनाएर बिद्यालय सञ्चालन गर्ने वा पठनपाठन नियमित गर्ने कुरामा गम्भीर बन्न आग्रह गर्नुभएको थियो ।

नगरशिक्षा प्रमुख बिष्णु तिवारीको अध्यक्षतामा भएको बैठकमा कुस्मा नगरपालिका वडा नं ७ का अध्यक्ष सुवासचन्द्र पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका अध्यक्ष चिरञ्जीबी अधिकारी, नेपाल शिक्षक संघ पर्वतका सचिब गोबिन्द पोखरेल, प्याब्सनका केन्द्रिय सदस्य बसन्त कर्माचार्य, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष पुर्णचन्द्र काफ्ले, पञ्चकोशी माबिका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मा, नगर शिक्षा अधिकृत दिपक सुबेदी लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

बैठकमा कुस्मा नगरपालिका भित्रका सामुदायिक र संस्थागत बिद्यालयका अध्यक्ष र प्रअ गरि २ सय भन्दा बढी सहभागी हुनुभएको थियो । कुस्मा नगरपालिकाले यस अघि शिक्षकहरुका लागि अनलाईन कक्षा सञ्चालन सम्बन्धी १० दिने भर्चुअल तालिम तथा एसईईका बिद्यार्थीका लागि रेडियोबाट पठनपाठन गराएको थियो ।