कोरोनाग्रस्त सिजनमा बायर्नको रेकर्ड ओइरो 


बर्लिन, (एजेन्सी)
विश्व खेलकुद जगत् कोरोना भाइरसका कारण थला परेको यो वर्ष जर्मन फुटबलका महारथी क्लब बायर्न म्युनिखलाई भने फापेको छ। बायर्नलाई यस सिजनमा एकपछि अर्को गर्दै कीर्तिमानको ओइरो नै लागेको छ। आइतबार सिजन २०१९÷२० को च्याम्पियन्स लिगको उपाधि जितेको बायर्न म्युनिखले एकसाथ थुप्रै रेकर्ड बनाएको छ। आइतबार राति पोर्चुगलको लिस्बन शहरमा भएको फाइनल खेलमा बायर्नले फ्रेन्च क्लब पीएसजीमाथि १–० को साँघुरो जित निकाल्दै छैठौंपटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो। बायर्नले २०१२÷१३ को सिजनपछि यो प्रतियोगिता जितेको हो।
यस सिजनमा बायर्नले च्याम्पियन्स लिगमा ऐतिहासिक सफलता हात पार्न सानदार प्रदर्शन गरेको थियो। बायर्नले प्रतियोगिताभर खेलेका सबै म्याचमा शतप्रतिशत जित दर्ता गर्न सफल भएको छ। च्याम्पियन्स लिग इतिहासमा अपराजित रहँदै उपाधि जित्ने बायर्न दोस्रो टिम बनेको छ। यसअघि सिजन २००७÷०८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले समूह चरणबाटै कुनै पनि खेल नहारी उपाधि जितेको थियो।
यस सिजनमा बायर्नले समग्रमा ट्रिबेल उपाधि जित्न सफल भएको छ। बायर्न इतिहासमा दोस्रोपटक ट्रिबेल उपाधि जित्ने दोस्रो टोलीसमेत बनेको छ। यसअघि ट्रिबेल उपाधि दुईपटक जित्ने अर्को टिम स्पेनिस बार्सिलोना मात्रै थियो। यस्तो दुर्लभ रेकर्ड अन्य कुनै पनि क्लबका नाममा आजसम्म छैन।
यसपटक बायर्नले च्याम्पियन्स लिग जित्दा विभिन्न रेकर्डहरूको ओइरो नै लाग्यो। बायर्नले छैठौंपटक च्याम्पियन्स लिग जित्दा ६ पटक उक्त उपाधि जित्ने इंग्लिस क्लब लिभरपुलसँग बराबरी गरेको छ। च्याम्पियन्स लिगको इतिहासमा लगालग  सम्पूर्ण ११ खेल जितेर उपाधि जित्ने बायर्न पहिलो क्लब पनि बनेको छ। यसअघि कुनै पनि क्लबले शतप्रतिशत जितसहित उपाधि जित्न सकेको थिएन। बायर्नले यो सिजनभर प्रतियोगिता सकिँदा कुल ४३ गोल गरेको छ। त्यसक्रममा बायर्नले च्याम्पियन्स लिग इतिहासमा ५ सय गोल पनि पूरा गरेको छ। बायर्न ५ सयौं गोल पूरा गर्ने तेस्रो क्लब बनेको छ। पहिलो क्लब रियल मेड्रिडले कुल ५ सय ६७ र बार्सिलोनाले कुल ५ सय १७ गोल गरेका छन्।
बायर्नका गोलकिपर म्यानुएल निउर फिफा विश्वकपको फाइनल र च्याम्पियन्स लिगको फाइनलमा क्लिन सिट पाउने एक मात्रै गोलकिपर बनेका छन्। सिजन २००७÷०८ पछि रियल मेड्रिडका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेसीपछि पहिलोपटक बायर्नका रोवर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा एकै सिजनमा सर्वाधिक गोलकर्ता बनेका छन्। उनले यस सिजनको १० खेलमा १५ गोल गरे।