बैतडीमा एक साता निषेधाज्ञा


बैतडी, (नेस) । 
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलन नदिन बैतडीमा १ हप्ताका लागि निषेधाज्ञा लागू गरिएको छ । मंगलबार राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको र गौरापर्व पनि शुरू भएकाले भीडभाड हुन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । निषेधाज्ञा लागू भएपछि जिल्लाभर सुनसान बनेको छ ।

निषेधाज्ञा कडाइका साथ लागू गर्न सुरक्षा निकायहरू बिहानैदेखि खटिएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द रहेका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।

यस्तै सरकारी कार्यालयहरूमा पनि न्यूनतम कर्मचारीको उपस्थितिमा सार्वजनिक सेवा प्रवाह गर्ने, अत्यावश्यक भनी तोकिएकाबाहेक अन्य सवारीसाधनमा रोक लगाइएको छ । यस्तै निषेधाज्ञा जारी गरिएको अवधिमा सबै प्रकारका मेला, जात्रा, सभा, जुलुस, खेलकुदलगायत भीडभाड हुने खालका सबै कार्यक्रममा रोक लगाइएको पजल्ला प्रशाासनले विज्ञप्ति जारी गरी जनाएको छ ।

परम्परागत रुपमा नित्यपूजा बाहेक भीडभाड हुने किसिमले मनाइने चाडपर्वमा समेत रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशविपरीत कसैले कार्य गरेमा कानुनअनुसार कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो । जिल्ला सुरक्षा समितिले संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी भएको हो ।