ताप्लेजुङ प्रवेश गर्न खोज्ने गाडी प्रहरी नियन्त्रणमा


ताप्लेजुङ, (नेस)

अनुमतिबिना यात्रु बोकेर ताप्लेजुङ प्रवेश गर्न खोज्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोभिड–१९ संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी बन्द गरिएको अन्तरजिल्ला सवारी आवागमनको नियमलाई उल्लंघन गरी झापाबाट ताप्लेजुङतर्फ आउँदै गरेको सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

झापाको कचनकवल गाउँपालिकाबाट पाँच जना यात्रु बोकेर ताप्लेजुङ आउँदै गरेको प्र१–०१–००१ज ३४३५ नम्बरको जिपलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानीय प्रशासनको अनुमतिबिना आएको उक्त गाडीलाई काबेली नाकामा रहेको हेल्प डेस्कको सहायतामा यात्रुसहित नियन्त्रणमा लिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रनाउ श्रेष्ठका अनुसार विभिन्न काल्पनिक समस्या देखाउँदै रातारात भागेर आएको सो सवारीसाधनलाई हेल्प डेस्कले सोमबार राति करिब ३ बजेतिर नियन्त्रणमा लिएको हो । डेस्कको नियन्त्रणपछि हाल जिप प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक तथा यात्रुलाई सदरमुकामस्थित ताप्लेजुङ उद्योग वाणिज्य संघको भवनको क्वारेन्टाइनमा राखिएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

निषेधाज्ञाको नियम उल्लंघन गरी सवारी चलाएका कारण सवारीधनी र चालकलाई कानुनबमोजिम कारबाही हुने उहाँको भनाइ छ । पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु पुछारमा रहेको काबेली ताप्लेजुङ प्रवेशको मुख्य नाका हो ।

संक्रमणको जोखिमलाई बढ्न नदिन ताप्लेजुङको स्थानीय प्रशासनले पछिल्लो समय सवारी पास तथा सहमतिलाई थप कडाइ गर्दै आएको छ । स्थानीय प्रशासनको उक्त योजनालाई कडाइका साथ कार्यान्वयन गर्दै आएको र कसैले नियमको उल्लंघन गरेमा संक्रमण नियन्त्रण ऐनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताउनुभयो ।