आकस्मिकबाहेक सबै सेवा ठप्प


वीरबहुदर बम, मुगु

स्वास्थ्य सेवा कार्यालय मुगुमा आकस्मिकबाहेक अन्य सेवा ठप्प भएका छन् । सोमबार स्वास्थ्य सेवा कार्यालयमा कार्यरत एक जना कर्मचारीलाई कोरोना पोजेटिभ भेटिएपछि जिल्ला अस्पताल मुगुमा मंगबारदेखि आकस्मिकबाहेकका अन्य सबै सेवा एक हप्ताका लागि बन्द गरेको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

कार्यालयलका अनुसार स्वास्थ्य कार्यालयमा कोरोना पोजेटिभ भेटिएपछि जिल्लामा संक्रमण नफैलियोस् भनेर अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सबै एक हप्ताका लागि रोक लगाइएको स्वास्थ्य सेवा कार्यालय मुगुका सूचना अधिकारी परशुराम नेपालीले बताउनुभयो ।

मुगु अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी चिकित्सक नर्स, अनमी र अन्य स्थानीयलाई गरी ६२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउँदा एक कर्मचारीको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कोरोना पोजिटिभ कर्मचारीलाई उपचारका लागि सोमबारदेखि नै आइसोलेसनमा राखेर उपचार शुरू भइरहेको नेपालीले जानकारी दिनुभयो । कोरोना महामारी फैलिन नदिन एक साताका निम्ति गमगढी बजार क्षेत्रलाई नै सिल गर्ने जिल्ला प्रशासन कार्यालयले तयारी थालेको छ ।