कोरोना सारेको भन्दै स्वर्णधारी गर्भवतीमाथि कुटपिट


उत्तम नेपाल, भद्रपुर

कोरोना सङ्क्रमित भएर सार्वजनिक स्थानमा गएको भन्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण जितेकी चन्द्रकला लाम्गादे र उनका श्रीमान् सागर खातीमाथि कुटपिट भएको छ ।

झापाको मेचीनगर नगरपालिका–१३ मा दुर्गा श्रेष्ठ र विष्णुमाया प्रधानको आक्रमणबाट ७ महिनाको गर्भ रहेकी लाम्गादे र उनका श्रीमान् सागर खाती घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । श्रेष्ठले उनीहरूलाई गाली–गलौज गर्दै निर्घात कुटपिट गरेको पीडितले सुनाए ।

सागरको परिवार स्थानीय राजन दर्जीको घरमा डेरा गरेर बस्दै आएका थिए । मेचीनगर नगरपालिका बाहिरबाट आएका एक जनासँग बसेर खाजा खाएको भन्दै एक महिनाअघि दर्जीलाई नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा पीसीआर गर्दा नेगेटिभ आएपछि उनी घरमा बस्न थालेका थिए ।

घटनाअनुसार क्वारेन्टाइन बसेर आएपछि श्रेष्ठले दर्जीलाई कोरोना सार्न गाउँ आएको भन्दै निरन्तर गाली–गलौज गर्ने गरेका थिए । दर्जीको घरअगाडि भएको क्यारेमबोर्ड खेल्दै गर्दा उनीमाथि गाली–गलौज गर्दै श्रेष्ठले लखेटेका थिए । दर्जी भाग्दै सागरको घरमा गए । बेलुकी ८ बजे सागर र उनकी पत्नी चन्द्रकला भात खाँदै थिए ।

दर्जीलाई श्रेष्ठले जातीय अपशब्द बोलेर गाली–गलौज गर्दा चन्द्रकलाले प्रतिवाद गरेकी थिइन् । सोही क्रममा श्रेष्ठले सागर र चन्द्रकलामाथि कुटपिट गरेका हुन् ।

पीडित सागरका अनुसार ७ महिनाको गर्भ रहेकी पत्नी चन्द्रकलाको पेट, ढाड, छातीलगायतका स्थानमा श्रेष्ठ दम्पतीले कुटपिट गरेका थिए । सागरलाई पेटीले कुटपिट गरेका कारण शरीरभर नीलडाम छ । उनीहरू दुवै उपचाररत रहेका छन् । घटनामा संलग्न दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

कुटपिट गर्नेविरुद्ध मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य तथा दलित अधिकारकर्मी निर्मला परियारको अगुवाइमा उजुरी दर्ता भएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरूविरुद्ध कुटपिट र जातीय भेदभाव तथा छुवाछुत कसूर सजाए ऐन–२०६८ अन्तर्गतको मुद्दा दर्ता गरिएको परियारले जानकारी दिनुभयो ।

मंगलबार जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी राकेश थापाले जानकारी दिनुभयो । घाइते चन्द्रकलाको अवस्था सामान्य भए पनि गर्भमा रहेको शिशुको अवस्था नाजुक रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै श्रीमान् सागरले बताउनुभयो ।

कुटपिटमा संलग्न दुर्गा नेपाली सेनाबाट सेवानिवृत्त भएका हुन् । लाम्गादे एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी हुन् । कोरोना संक्रमण बढेका कारण गर्भवती उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा हाजिर गर्ने गरी प्रहरी मुख्यालयले काज बिदामा राखेको थियो । सोही क्रममा उनी मेचीनगर–१२ चारआलीमा बस्दै आएकी थिइन् ।