नेकपाले बोलायो सचिवालय बैठक

कार्यदलको प्रतिवेदनप्रति ओली–प्रचण्ड सहमत


नेपाल समाचारपत्र, काठमाडौं
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले पार्टीभित्रको जारी आन्तरिक विवादमा सहमति जुटाएर अगाडि बढ्न सचिवालयको बैठक बोलाएको छ । ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनप्रति पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति जनाएसँगै सचिवालय बैठक बोलाइएको हो ।

कार्यदलले दिएको सुझावलाई औपचारिकरुपमा अनुमोदन गर्न सचिवालयको बैठक बोलाइएको छ । अध्यक्षद्वयले कार्यदलको प्रतिवेदन अध्ययन गरेसँगै जारी विवाद समाधान गर्न सहमति हुनुभएको छ ।

अध्यक्षद्वयको सहमतिअनुसार भदौ १३ गते शनिबार सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा भएको अध्यक्षद्वयको छलफलमा सचिवालय बैठक भदौ १३ गते बस्‍ने सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

‘पार्टीका दुई अध्यक्षबीचको दुई घण्टा लामो छलफल भयो, भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको छ।’ –उहाँले भन्नुभयो । कार्यदलले बुझाएको प्रतिवेदनलाई सचिवालय बैठकबाट अनुमोदन गराएर उक्त प्रतिवेदन स्थायी कमिटी बैठकमा पेस गरिने बताइएको छ ।

नेकपाको आन्तरिक विवादमध्ये एक मानिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन संशोधनसहित पारित गर्न कार्यदलको प्रतिवेदनले सुझाव दिएको छ । सम्झौता स्वीकार गर्ने÷नगर्ने विषयमा लामो समयदेखि नेकपाका नेताहरु विभाजित हुँदै आएका छन् । एमसीसी हाल संसद्मा अनुमोदनका लागि विचाराधीन अवस्थामा रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली तत्काल पारित गर्नुपर्ने पक्षमा रहनुभएको छ भने अर्का अध्यक्ष प्रचण्डले संशोधन गरेर मात्र पारित गर्नुपर्ने अडान राख्दै आउनुभएको छ । एमसीसीबारे विवाद भएपछि वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलमा नेता भीम रावल र परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीले संशोधन गरेर मात्र पारित गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएका थिए ।

पछिल्लोपटक गत साउन ३० गते नेकपाभित्रको विवाद समाधान गर्न गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले पनि एमसीसीबारे छलफल गर्दै केही सुझाव दिएको छ । प्रतिवेदनमा एमसीसी सम्झौताबारे राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकतानुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने उल्लेख गरिएको छ ।

नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौता यति बेला संसद्मा अनुमोदनका लागि विचाराधीन अवस्थामा छ, प्रतिवेदनमा भनिएको छ, उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नुअघि आवश्यक अध्ययन गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ ।