काठमाडौं उपत्यकामा निषेधाज्ञा थप !


सुनील महर्जन, काठमाडौं
काठमाडौं उपत्यकामा हाल लागू निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरिएको छ । भदौ ३ गतेदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञा बुधबार राति सकिँदै छ ।

उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले सो सिफारिस गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको हो ।

मंगलबार दिउँसोको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने डीसीसीएमसीमा जनप्रतिनिधिहरु पनि हुन्छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे छलफल भएको बताउनुभयो । ‘निषेधाज्ञा बढाउनुपर्नेमा सबै सहमत रहेका छन् ।

यही अनुसार अघि बढ्ने तयारीमा छौं’, दाहालले बैठकपछि भन्नुभयो– ‘गृह मन्त्रालयसँग समन्वय गरेर निर्णय लिनेछौं ।’

सो बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एक साता निषेधाज्ञा राखे आइसोलेसन

सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिनेमा जोड दिनुभएको थियो ।
काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको संयुक्त फोरमले नगरपालिकाले प्रवाह गर्दै आएको सामान्य सेवाहरु आगामी १५ गतेसम्म बन्द रहने सोमबार निर्णय गरेको थियो । फोरमले १५ गतेसम्म निषेधाज्ञा जारी गर्न सुझाव दिने निर्णय गरेको थियो ।

मेयर शाक्यले उपत्यकाभित्र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसको पीसीआर परीक्षण गर्न निषेधाज्ञा बढाउनुपर्नेमा जोड दिनुभयो । निषेधाज्ञाको अवस्थामा उपत्यकाबाहिरबाट कोही पनि नआएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने मेयर शाक्यको धारणा थियो ।

बैठकपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा निर्णय गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु मंगलबार साँझ गृह मन्त्रालय पुगेका थिए । ‘अहिले मन्त्रालयमा छलफल भइरहेको छ । सबैको धारणा सुनेर आएका प्रतिवेदन विश्लेषण ग¥यौं । निषेधाज्ञा एक सातासम्म लम्ब्याउने तयारीमा छौं ।

यसमा गृह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको राय लिएर निषेधाज्ञाको आदेश जारी गर्नेछौं।’ –ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भन्नुभयो ।

निषेधाज्ञाका क्रममा अत्यावश्यक कामबाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको भन्दै कडाइ गर्ने तयारी पनि प्रशासनको छ ।